मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

सत्तारुढ आठ दलको बैठक बुधबार बस्ने, काठमाडौं आइपुग्न सांसदहरुलाई निर्देशन



काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि (बुधबार) बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।

यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : १९ बजे