माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

बिर्तामोड नगरमा अस्पताल भवन सम्पन्न



काठमाडौं । झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ।

संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए ।

नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिए । उनले भने, “हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।” नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरंग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसुती, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अपस्तालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल अधिकारीले बताए ।

“विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौं”, उनले भने, “विशेष परिस्थिति बाहेक रिफर दिइने छैन ।” नगर अस्पतालका हाल ३६ जनशक्ति व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिए ।

अस्पताल परिसरमा थप रू १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : २४ बजे