सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल संरक्षण र सौन्दर्यीकरणका लागि कम्पाउन्ड निर्माणको शिलान्यास गरिएको छ । उक्त ताललाई गाउँपालिकाले विशिष्ट, अद्वितीय र उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक स्थल बनाउन विधिवत शिलान्यास गरेको हो । विगत लामो समयदेखि नाढीमन ताल अलपत्र र संकुचित बनाइएको थियो ।
यसरी अलपत्र अवस्थामा पु¥याइएको यो ताल संरक्षण गर्न गाउँपालिकाले पहल थालेको छ । विगतका वर्षमा यस ताललाई साँघुरो बनाएर आसपासका जग्गामा विभिन्न व्यक्तिहरु आफ्नो नाममा लालपूर्जा बनाइ हडपेका थिए ।
यसरी नाढीमन ताल क्षेत्रको अतिक्रमित जग्गा संरक्षणको लागि गाउँपालिकाको पहलमा कम्पाउन्ड बनाउन शिलान्यास गरिएको छ । नाढीमन ताल क्षेत्रको जग्गा नाप, जाँच र सिमांकन गरी कम्पाउन्ड बनाउन लागिएको हो । तालको कम्पाउन्ड वाल निर्माण कार्यको शिलन्यास फागुन १७ गते बुधवार गरिएको हो ।
कम्पाउन्ड वाल निर्माण कार्यको शिलन्यास चन्द्रनगर गाउँपालिका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सामाजिक अगुवा र कर्मचारीद्धारा संयूक्त रुपमा सम्पन्न भएको थियो । यस शिलन्यास कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावप्रति चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महत्वले कृतज्ञता व्यक्त गरेका थिए ।
चन्द्रनगर गाउँपालिकाको नेतृत्व र नापी कार्यालयको प्राविधिक सहयोगमा आधुनिक प्रविधिको प्रयोग गरी नाढीमन क्षेत्रको बेचिएको जग्गाको सिमांकन गर्ने कार्य सम्पन्न भएको थियो । यसमा चन्द्रनगर गाउँपालिका भूमि तथा जलाधार व्यवस्थापन शाखा र नापी कार्यालयको सहयोग प्रशंसनीय रहेको अध्यक्ष महत्वले बताएका छन् ।
नाढीमन तालसँगै यससित जोडिने सम्भावना बोकेका ताल तलैयाको संरक्षण, मौलिक पुनर्निर्माण र सौन्दर्यीकरण गरी व्यवस्थित बनाउने पवित्र कार्यमा सर्वपक्षीय सहयोग रहेकोप्रति अध्यक्ष महत्वले खुसी व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘अहिलेसम्म हामी सबैको सहयोगमा यहाँसम्म ल्याइएको छ, अब यसको संरक्षणको जिम्मा यहाँका जनताको हातमा सुम्पिएको छु । ‘अब पालो जनताको हो, नाढीमन तालको विकासका लागि योगदान गर्ने । गाउँपलिकाका जनता र सम्बन्धित सरोकारवालाले नाढीमन ताल बनाउन आफनो–आफनो ठाउँबाट सहयोग, सहजीकरण र योगदान गर्नुहुने विश्वास लिएको छु,’ अध्यक्ष महत्तोले भने ।