माघ ५, २०८१ शनिबार Sat Jan 18 2025

कालीमाटी गाउँपालिकाको सहयोग र सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



सल्यान । सल्यान कालीमाटी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीले गाउँपालिकाको स्वास्थ्य, पशु, कृषि, शिक्षा, पर्यटन क्षेत्रसँग सम्बन्धित रहेर प्रश्न,जिज्ञासा राख्दै आवश्यक सुझाव प्रदान गरेका थिए ।

कालीमाटी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकावासीले विकास निर्माणको पारदर्शी र गुणस्तरीय काम गर्न आग्रह गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष ०७९(०८० को हाल सम्म सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले विकास निर्माण र पालिकाको समृद्धिका लागि सबै राजनीतिक दल, नागरिक एवम् सरोकारवालाले हातेमालो गर्नुपर्ने बताएका थिए । केसीले सुनुवाइ कार्यक्रममा उठेका सबै जिज्ञासा सम्बोधन गर्ने प्रयास गर्दै प्राप्त सुझावलाई ग्रहण गर्दै अगाडी बढ्ने प्रतिबद्धता राखेका थिए ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका प्रतिनिधि टोप बहादुर केसी, एमालेका केशर बुढा मगर, माओवादी केन्द्रका प्रेम बहादुर वली, राप्रपाका प्रदीप थापा, एकीकृत समाजवादीका ओपेन्द्र बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको सहयोग र सामुदायिक विकास केन्द्र नेपाल आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक दीपेन्द्र कुमार शाहीले सार्वजनिक सुनुवाइ कार्यक्रमको आवश्यकता, महत्त्वको विषयमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ सल्यानका उपाध्यक्ष शङ्कर केसीले गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  २ : ३५ बजे