भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ । उपप्रमुख श्रेष्ठलाई अनुगमनका क्रममा कुटपीट भएको हो । नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तर्गत अनुगमन गर्न गएका बेला उनीलाई कुटपीट गरिएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले नगर उपप्रमुख श्रेष्ठलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । उपप्रमुख श्रेष्ठमाथि कुटपिट भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले महानगरीय प्रहरी वृत्त मध्यपुर थिमिमा उजुरी दिएका थिए ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उपप्रमुख श्रेष्ठलाई कुटपिट गरेको घटनालाई दिएर पार्टीले दोषीमाथि कारबाहीको माग गरेको छ । पार्टीले विकास निर्माणको काममा हातेमालो गरी अघि बढ्नु पर्नेमा उल्टै जनप्रतिनिधिमाथि हातपात गरिनु खेदजनक रहेको भन्दै आपत्ति प्रकट गरेको छ ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई नगरपालिका र नेकपा माओवादी पार्टीले कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।