जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

हिमालयन र सिभिल बैंकले फागुन १२ बाट एकीकृत कारोबार थाल्ने



काठमाडौं । आगामी फागुन १२ गतेबाट हिमालयन र सिभिल बैंकले एकीकृत कारोबार थाल्ने भएका छन् । हिमालयनले सिभिल बैंकलाई प्राप्ती गरेपछि ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत कारोबार गर्ने पहिला नै सहमति भइसकेको हो ।
प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान कमलादीमा रहने बताइएको छ।

हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्बन्धी गत असार २९ गते प्रारम्भिकर सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो । गत पुस २८ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित भएको हो ।
सम्झौता–पत्रमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेबीच हस्ताक्षर भएको भएको थियो ।

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा दुई बैंक सञ्चालन समितिको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने भएका छन् ।
यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्ज गर्ने सम्झौता भइसक्दा पनि पछि एकाएक भाँडिएको थियो ।
यसैबीच एकीकृत कारोबारका लागि सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहने छ । सिभिलको भने सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ०३ बजे