गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वि.सं. २०५२ सालमा माओवादीले १० वर्षे जनयुद्ध थालेकोे दिनको सम्झनामा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जनयुद्ध दिवसको अवसरमा राज्य पक्ष र विद्रोही पक्षबाट मारिएकाको परिवारका साथै घाइते तथा अपाङ्गलाई सम्मान गर्ने समेत तयारी भएको जनाएका छन् ।
नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन माओवादी जनयुद्धकै हात रहेको उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले सार्वजनिक बिदा दिइएको बताए । उनले सम्पूर्ण सहिद, घाइते, अपांग र बेपत्ताहरूको गाउँपालिकाले सम्मान गर्दै जनयुद्ध दिवसका दिन कार्यक्रम गरेर कदर गर्न लागिएको बताएका छन् । तिमल्सिना माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् ।