माघ २, २०८१ बुधबार Wed Jan 15 2025

पोखराका व्यस्त सडकमा सवारी पार्किङ गर्न निषेध



काठमाडौं । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।
महानगरपालिका मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको जनाइएको छ ।

महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ । सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ५९ बजे