माघ ४, २०८१ शुक्रबार Sat Jan 18 2025

आँबुखैरेनी गाउँपालिकाले पु-यायो, घरदैलोमा सामाजिक सुरक्षा भत्ता



तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय जेष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन गाह्रो भएकाले घरदैलोमै पुगेर सुरक्षा भत्ता वितरण कामलाई निरन्तरता लिएको बताइएको छ ।

पहिलो चौमासिकमा घर–घरमै पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले दोस्रो चौमासिक कात्तिकदेखि पुससम्मको भत्ता पनि घरैमा पु¥याएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताएका छन् ।

अध्यक्ष चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीलाई बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर वितरण गर्न लागिएको हो । चुमानले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वचन दिएका थिए ।

अध्यक्ष चुमानले भने, ‘मैले चुनावमा जनता सामु गरेका बाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु ।’ उनले थप भने, ‘पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रुपमा गाउँमै भत्ता पु¥याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको अनुभूति भएको छ ।’

घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य थालिएपछि अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बैंकको ढोकामा घण्टौं लाइन बस्नुपर्ने झन्झट हटेको छ । गाउँपालिकाले यस्तो कार्यले स्थानीय अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरु सुखी भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ४९ बजे