३१ असार २०८३, बुधबार Wed Jul 15 2026

तामाङ समुदायले आज सोनाम ल्होछार पर्व मनाउँदै



काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५९ औँ सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको हुन्छ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ। सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ११ : २३ बजे