बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । मन्त्रालय भागबन्डामा सहमति हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिन लागेका हुन् । लुम्बीनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।

सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । पुस २८ गते गिरीले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे सचिवालयलाई जानकारी पत्र बुझाएका थिए । त्यसअनुसार प्रक्रिया अगाडि बढ्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा लाग्ने सात दलीय गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले बताएको छ । मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ५३ बजे