बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

विराटनगर महानगरद्वारा वडास्तरीय योजनाको सम्झौता अनुसार म्याद थप्ने निर्णय



विराटनगर । विराटनगर महानगरपालिकाले योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाको म्याद उपभोक्ता समितिले थप्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाको म्याद थप्ने निर्णय गरेको हो । यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आव ०७९÷८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिनुपर्ने निर्णय गरेको थियो ।

तर बीचमा चाडपर्वले गर्दा तोकिएको समय सम्झौता हुन नसकेकाले नगर कार्यपालिकाको बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । उक्त जानकारी प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले दिएका हुन् ।

‘यसअघि तोकिएको मितिभित्र वडास्तरीय योजनाको सम्झौता हुन नसकेका कारण माघ मसान्तसम्म म्याद थप गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ,’ कोइरालाले भने।

बैठकले साना र पुराना सडकको यथास्थितिकै अवस्थामा वडास्तरीय योजना कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ। बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने भएकाले अहिलेलाई उक्त कार्य स्थगित रहेको कोइरालाले जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ०७ बजे