चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सांसद विनोद चौधरीको विकासका लागि योजना र संकल्प हुनुपर्नेमा जोड



नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले विकासका लागि योजना र संकल्प हुनुपर्नेमा जोड दिएका छन् । उनले विकासलाई हचुवाको भरमा राजनीतिक स्वार्थका लागि मात्र जोडिएका त्यो दीगो नहुने बताएका बताए । मंगलबार नवलपरासी बर्दघाट सुस्तापश्चिम क्षेत्र नम्बर १ को विकासका लागि प्राथमिकता निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद चौधरीले विकासका लागि योजना र संकल्प हुनुपर्ने बताएका छन् ।

उनले आफू अहिलेसम्म एउटा संकल्प लिएर यहाँसम्म आएको स्पष्ट पारे । चौधरीले विकासका लागि सोच र संकल्प भए श्रोतको समस्या नहुने भन्दै विकासका सन्दर्भमा त्यसलाई स्पष्ट योजनाका साथ राजनीतिमा जोडे मात्र विकासले फड्को मार्ने औल्याए ।

उनले भने,‘ ‘मलाई लाग्छ कि विकासका लागि सकल्प चाहिन्छ । हो मैले यही संकल्प लिएर आफ्नो जीवनलाई यहाँसम्म ल्याएँ । विकासका सन्दर्भमा त्यसलाई राजनीतिमा जोड्दा त्यसले फड्को मार्छ । एउटा निजी क्षेत्रको व्यक्तिले त केही गर्न सक्छ भने राज्यको शक्तिलाई सही ढंगले उपयोग गर्न सकियो भने त्यसले कैयौं गुणा फड्को मार्न सक्छ ।’

सांसद चौधरीले ५० वर्ष अघि स्थापना भएको बुढानिलकण्ठ स्कुलको उदाहरण दिँदै किन त्यो देशभर खुल्न सकेन भन्दै प्रश्न गरेका थिए ।

उनी भन्छन, ‘५० वर्ष अघि बुढानीलकण्ठ स्कूल खुल्यो । त्यो तत्कालीन युवराजलाई पढाउन आर्मीलाई जोडेर ब्रिटिश शिक्षक ल्याएर सुरु गर्यो । यसले धेरै प्रतिभा जन्मायो । यो देशभरको उत्कृष्ट भयो । त्यो फेरि नेपालीले चलाएको हो । व्यवस्थापन राम्रो भयो भने के हुन्छ भने उदाहरण हो । तर बुढानीलकण्ठ स्कुल एकबाट दुई भएन । राज्यले चाहेको भए प्रत्येक प्रदेश र जिल्लामा बनाउन सक्थ्यो । भारतमा इन्डियन इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टडिजमा भर्ना पायो भने त्यसको जिन्दगी बन्छ । उनीहरु अब देशमा मात्र सीमित नभई अन्य मुलुकमा पनि विस्तार गर्न थालेका छन् । त्यसैले विकासको सोच भनेको पहिले हामी के गर्ने भन्ने स्पष्ट हुनुपर्छ ।’

उनले विकासको सीमा नहुने भन्दै त्यसको लागि स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना बनाएर विकासमा जानुपर्नेमा जोड दिए । त्यसको लागि निजी क्षेत्र, संघसंस्थासँग मिलेर यो क्षेत्रलाई रोलमोडलको रुपमा उभ्याउन सकौं भन्ने आफ्नो सपना रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्य चौधरीले आफ्नो क्षेत्रका जनताको विकासको चाहना पूरा गर्न प्राथमिकता निर्धारण र रणनीतिक योजना बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रका विषयगत विज्ञहरुले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ, भौतिक पूर्वाधार, सञ्चार, यातायात , पर्यटन र समग्र आर्थिक विकासको कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : ४७ बजे