बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले १२ दशमलब ५० प्रतिशत लाभांश नगद ७ दशमलब ५ प्रतिशत बोनस शेयर ५ प्रतिशतसहितको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो ।

सभाले चुक्ता पुँजीको ७ दशमलब ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुने जनाइएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताइएको छ ।

बैंकले आफ्ना सेवा प्रवाहलाई ग्राहकको चाहना अनुसार थप परिस्कृत र प्रभावकारी गरी अभिबृद्धि ल्याउन सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको उनले बताए ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, दामोदर प्रसाद घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।
सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : २२ बजे