चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

बैंकर्स संघको अध्यक्षमा के.सी. र उपाध्यक्षमा कोइराला



काठमाडौं । नेपाल बैंकर्स संघ विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले संघको अध्यक्षमा एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार के.सीलाई निर्विरोध चयन गरेको छ । त्यसैगरी सभाले उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई आगामी दुई वर्षका लागि मनोनित गरेको छ । गत बुधवार बसेको संघको विशेष साधारण सभाले अध्यक्षमा केसीलाई निर्विरोध चयन हो ।

सङ्घका अध्यक्ष अनिलकुमार उपाध्याय कार्यरत संस्था (कृषि विकास बैंकमा उनको कार्यकाल पुस ९ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो । सो पद रिक्त भएपछि सङ्घले विशेष साधारण सभा डाकी उपाध्यक्ष रहेका के.सी.लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।

२०७३ फागुनदेखि एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रहेका के.सी.सँग तीनदशक बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।

संघ कार्यकारिणी समितिमा अध्यक्ष के.सी. र उपाध्यक्ष कोइरालाका साथै निवर्तमान अध्यक्षमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, सदस्यहरूमा लक्ष्मी बैंकका सिइओ अजय बिक्रम शाह, नेपाल एसबिआई बैंकका सिइओ दीपककुमार दे, नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सिइओ रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ र सनराइज बैंकका सिइओ सुमन शर्मा रहेका छन् । सङ्घको सल्लाहकार हिमालयन बैंकका सल्लाहकार अशोक शमशेर जंगबहादुर राणा रहेका छन् ।

उक्त सभापश्चात आयोजित कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिल कुमार उपाध्यायलाई सङ्घको २० औं अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत विभिन्न ओहोदामा रही समस्त बैंकिङ्ग क्षेत्रलाई दिएको उल्लेखनीय योगदान गरेको भन्दै सम्मान–पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : २९ बजे