बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

नेपाल टेलिकमलाई दूरसञ्चार प्राधिकरणको प्रश्न ? खोइ फाइभजी ?



काठमाडौं । नेपाल टेलिकमले ज्यानुअरी १ देखि गर्ने भनेको फाइभजी मोबाइल सेवाको परीक्षण सुरु नभएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कारणसहित लिखित जबाफ मागेको छ।

नेपालका लागि फाइभजीको आधिकारिक उपकरण आपूर्तिकर्ता ह्वावेईले आफ्नो पक्षमा आवश्यक तयारी सकिएको बताएपछि नेपाल टेलिकमसँग प्रश्न सोधेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

‘आपूर्तिकर्ताले सबै तयारी भएको बताएपछि परीक्षणको बाँकी जिम्मेवारी नेपाल टेलिकमको हो। त्यसैले लिखित जबााफ मागेका हौँ,’ उनले भने। नेपाल टेलिकमले भने सार्वजनिक परीक्षण गर्न नसके पनि आन्तरिक रूपमा पूर्वाधार र उपकरणहरूको तयारी जारी रहेको बताएको छ।

‘हामीले पाएको निर्देशनबमोजिम आन्तरिक रूपमा साइट बनाउनेदेखि आन्तरिक परीक्षणको काम गरिरहेका छौँ। त्यो सकिएपछि सार्वजनिक परीक्षणमा जान्छौँ,’ एनटीसीका सहप्रवक्ता रञ्जित लोहियाले भने।

नेपालमा सूचना तथा प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभजी परीक्षण गर्ने अनुमति गत वर्ष कात्तिक महिनामा दिएको थियो। लगत्तै ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ अन्तर्गत सेवा सञ्चालन गर्ने आधार तयार पार्ने बताएको थियो।

नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० मेगाहर्ज ब्यान्डमै फाइभजी परीक्षण गर्नेगरी अघि बढाएको बताइएको थियो । नेपाल टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी प्रविधि परीक्षण गर्ने जनाएको थियो।

प्राविधिक कठिनाइ र नेपालमा अझै फाइभजी समर्थन गर्ने मोबाइललगायत उपकरणको पर्याप्त प्रयोग नभएकाले समस्या देखा परेको लोहियाको भनाइ छ। ‘नेपालमा फाइभजी चल्ने उपकरणहरू नै निकै कम प्रयोगमा छन्। प्रविधि द्रुत रूपमा परिष्कृत भइरहेको छ तर हामी धेरै नेपालीसँग भएको उपकरणहरूले फाइभजी सपोर्ट नगर्ने जस्ता समस्या देखिएका छन्,’ उनले भने।

नेपाल टेलिकमले सबै तयारी सके पनि सार्वजनिक परीक्षण कहिले सुरु हुन्छ भन्ने नसकिने उनले बताए। आफूहरूले क्रमिक रूपमा काम गरिरहेको र परीक्षण समेत कति लामो हुन्छ भन्ने नसकिने उनको भनाइ छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : २५ बजे