काठमाडौं । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग जनमत पार्टीले कार्यसम्पादन विवरण माग गरेको छ । पार्टीले आफ्ना जनप्रतिनिधिसँग पत्र लेखेरै कार्यप्रगति विवरण माग गरको हो ।
‘जनमत पार्टीको तर्फबाट तपाईं स्थानीय तहमा निर्वाचित भएको ६ महिनाको कार्यकाल पूरा भइसकेको छ । त्यसमा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र पार्टीको केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन हुन अनुरोध छ,’ आफ्ना जनप्रतिनिधिहरुलाई पठाइएको पत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले भनेका छन् ।
प्रतिवेदनमा जनमत पार्टीको अवधारणा लागू गर्न के÷कस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइयो, जनसरोकारका विषयहरुलाई सम्बोधन गर्न के÷कस्तो पहल गरियो, जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरुसँग समन्वय कस्तो रह्यो विवरणमा समावेश गर्न सुझाव दिइएको छ ।
जनमत पार्टीका वडा र पालिकाका समितिहरुलाई पनि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यमूल्याङ्कन प्रतिवेदन पठाउन निर्देशन गरिएको छ ।