बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

दक्षिण एसियाली ज्योतिष महासङ्घद्वारा पुस २५ मा बैठक गर्न आह्वान



काठमाडौं ।दक्षिण एसियाका ज्योतिषीको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

महासङ्घले यही पुस २५ गते नेपालको राजधानी काठमाडौँमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिकाबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायतका कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए । उनले आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमात्र नयाँ नेतृत्व चयन गर्ने तयारी भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : १५ बजे