चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मासिक ३० युनिटसम्म खपत गर्ने उपभोक्ताको विद्युत महसुल महानगरले तिर्ने



काठमाडौं । वीरगञ्ज महानगरले मासिक ३० युनिटसम्म खपत गर्ने उपभोक्ताको विद्युत महसुल तरिदिने भएको छ । महानगरपालिकाको पहिलो बैठकले ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो ।

यही पुस १ गते देखि लागु हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको महसुल निःशुल्क गर्ने गरी महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले तिरिदिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

गत बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले आफूहरूले निर्वाचनका बेला जनताकाबीच गरेको प्रतिबद्धता अनुसार नगरवासीको विद्युत महसुल निःशुल्क गर्ने सम्झौता भएको बताएका हुन् ।
मेयर सिंहले सपथ लिएसँगै लिएपछि बैठकबाटै ३० युनिटसम्मको विद्युत महशुल निःशुल्क गर्ने निर्णय गरी नगरपरिषदबाट पारित गराएका हुन् ।

‘हामीले सपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ उनले , ‘लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लाग्यो, अब ढिलै भए पनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’

सम्झौता बमोजिम अब मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उनले बताए । ८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० यनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ ।

त्यसैगरी महानगरभित्र सञ्चालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै तिर्ने भएको छ । महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुसार प्राधिकरणले प्रत्येक महिना रिबेटसहितको ग्राहकको शुल्क फरोफाट गर्ने उल्लेख गरिएको छ ।

सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागू हुनुपूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने पनि सम्झौतामा उल्लेख छ । कुनै कारणबस सम्झौता बमोजिमको शुल्क भुक्तान हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिनभित्र प्राधिकरणलाई जानकारी गराउने पनि उल्लेख गरिएको छ ।

नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत महसुल र इनर्जी शुल्क निःशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ । सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : ४४ बजे