२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

गगन थापाले सभापति देउवासँग चुनाव लड्नु नै अर्थपूर्ण छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाले सभापति देउवासँग चुनाव लड्नु नै अर्थपूर्ण रहेको बताएका छन् । उनले नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा सरकारको नेतृत्व मात्रै नभएर राष्ट्रपतिसमेत रहेको बताएका छन् ।महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने । राष्ट्रपतिको कुरा त्यति छाडिदिने र दोस्रो प्राथमिकतामा राख्ने भन्ने कुरा हुँदैन ।’

सभापति देउवासँग गगन थापाले संसदीय दलमा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेनन् । ८९ सांसदमध्ये देउवाको पक्षमा ६४ र थापाको पक्षमा २५ मत मात्रै खस्यो । उनी भन्छन्, ‘गगन थापा उम्मेदवार हुने कुराको पनि अर्थ थियो । किनभने, गगन थापाभन्दा ३२ वर्ष जेठा पार्टी सभापति संसदीय दलको नेता बन्नका लागि उम्मेदवार हुनुहुन्थ्यो ।’

महामन्त्री शर्माले अगाडि भने, ‘एज (उमेर) हामीसँगै थियो, एजेन्डा हामीसँगै थियो तर परिणाम आएन ।’

अब गगन थापासँगको सहकार्य लामो रहन्छ कि भन्ने प्रश्नमा शर्माको कूटनीतिक जवाफ छ, ‘अहिले के अपेक्षा गर्न हुन्न भने अहिले तिमीहरु यहाँ उभिएका छौ, त्यसकारण आउँदो अधिवेशनदेखि पछिसम्म हुनु भन्नचाहिँ सकिँदैन ।’ अर्को फरक प्रश्नमा शर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आयो भने राम्रो हुने विश्लेषण गरे ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ४७ बजे