चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

बागमती प्रदेशसभाको पहिलो बैठक पुस ८ गते बस्ने



काठमाडौं । बागमती प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले गर्ने भएका छन् । जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको हो ।

नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित ढुंगानाले प्रदेशसभाको आगामी अधिवेशनको वैठक सञ्चालन प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । नुवाकोट १ (क)बाट ढुंगाना १२ हजार ११० मत ल्याएर विजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेलाई ४४८ मतान्तरले पराजित गरेका थिए ।

प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन नभएको खण्डमा संसद बैठक संचालनका लागि ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार ढुंगानाले बैठकको अध्यक्षता गर्ने भएकाले प्रदेशसभा सचिवालय त्यसको व्यवस्थापनमा जुटेको छ ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलव्ध गराएको तथ्यांक अनुसार ११० सदस्यीय प्रदेशसभामा उनी सबैभन्दा जेष्ठ सदस्य हुन् । उनको उमेर ७२ वर्ष रहेको छ । आयोगको प्रतिवेदन अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउने पर्नेछ । सोही अनुसार प्रदेशसभा सचिवालय तयारीमा जुटेको छ ।

उनको सपथ पश्चात उनले बाँकी सांसदलाई सपथ ग्रहण गराउने छन् । सांसदहरुको सपथ पछि प्रदेशसभाको आगामी अधिवेशनको सुरुवात हुनेछ । प्रदेशसभा सचिवालयले सपथ ग्रहणको मिति अझै टुंगो लागेको छैन ।

उक्त विषयमा छलफलका लागि सचिवालयले आगामी पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । सो बैठकले जेष्ठ सदस्यको सपथ, सांसदहरुको सपथ, स्वागत तथा प्रदेशसभाको पहिलो बैठकको कार्यसूचिका बारेमा निर्णय गर्नेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ३४ बजे