चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दोस्रो बीपी बन्ने हर्क साम्पाङको रहर, यसरी टाँसे आफ्नो तस्बिर



काठमाडौं । गएको बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचन हुनुभन्दा अगाडिसम्म हर्क साम्पाङलाई थोरैले मात्र चिन्ने गरेका थिए । उनले बनाएको हर्क साम्पाङ अ रेभोलुसन नामक फेसबुक पेज हेर्नेहरु र धरानमा पानी नभएको भन्दै उनले गुनासो गरेको देख्ने बाहेक अरुले उनलाई चिनेको थिएनन् । स्थानीय निकायको निर्वाचन ताका एक्लै माइक लिएर भाषण गर्दा कतिले उनको मानसिकतामा समेत प्रश्न गरेको सुनिन्थ्यो । तर स्थानीय निकायको निर्वाचनको परिणाम सार्वजनिक हुना थाल्नासाथ उनको चर्चा एकाएक चुलियो ।

मतगणना हुँदै जाँदा निरन्तर अग्रता कायम गर्दै उनी धरान उपमहानगरपालिकाको मेयरमा विजयी भए । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले उछिन्दै मेयरमा विजयी भएका थिए ।

लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङले २० हजार ८२१ मत ल्याउँदा दोश्रो स्थानमा रहेका किशोरले १६ हजार ५९ मत ल्याएका थिए भने त्यस अघि त्यहाँकै उपमेयर रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारी १२ हजार ८२५ मतका साथ तेश्रो स्थानमा रहिन् ।

राजनीतिक दलका उम्मेदवारलाई पराजित गरि अप्रत्यासित मतका साथ उदाएका हर्कले निर्वाचनभन्दा अगाडि गरेको पानी ल्याउने अभियान र चुनावी मुद्धासमेत त्यसैलाई बनाएका कारण मेयरमा विजयी भएको भन्दै उनीमाथि धरानवासीले भरोसा गरेको देखियो । मेयर जस्तो गरिमामय र जिम्मेवार पदमा रहेका उनले शालिनताका साथ आफ्नो बाचा पुरा गर्लान भन्ने आसा धरानवासी मात्र नभइ उनको विजयमा खुसी भएका गैरदलीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि गरेका थिए ।

यद्यपी, साम्पाङ शालिन भने बन्न सकेनन् । उनले ढुंगा, गिटी, बालुवा र पानीका पाइप बोकेकोदेखि बालुवाको थुप्रोमा बसेर खाजा खाएकोसम्मका भिडियिोहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै दलीय व्यवस्थाका नेतृत्वकर्ताहरुलाई तथानाम गाली गर्न थाले । दिनमै डेढ दर्जनभन्दा बढी अराजक अभिव्यक्तिले उनको सामाजिक सञ्जालमा ठाउँ पायो । आफूबाहेक कोही पनि विकासे व्यक्ति नभएको भन्ने उनको फेसबुके अभिव्यक्तिले उनका समर्थकहरु नै दुईधारमा बाँडिए ।

यति हुँदा हुँदै पनि उनी बाचा गरेझैं शर्दुखोलाको पानी धरानमा ल्याउन स्थानीयवासीको साथले पाएको सफलता र श्रमदानमा स्थानीयहरुलाई सहभागी हुन पारेको प्रभावले भने केही प्रशंसा पायो । तर, उनीमाथि दिनानुदिन अराजक बनेको आरोप लागिरहेको छ ।

पछिल्लो उदाहरण भने उनले बीपी पार्कको नाम बदलेर श्रम संस्कृति पार्क मात्र राखेका छैनन्, परिचय पाटी ९साइनबोर्ड०मा राखिएको सर्वमान्य नेता बीपी कोइरालाको तस्बिर हटाएर आफ्नै तस्बिर राखेका छन् । जसले गर्दा उनी आफ्नै घमण्डका कारण पतनको बाटोमा लागेको आरोपसमेत लागेको छ ।

श्रोतका अनुसार उनले पार्कको नाम परिवर्तन गरेको र बीपीको तस्बिर हटाएर आफ्नै तस्बिर राखेको विषयमा असोज १३ गतेको कार्यपालिका बैठकमा प्रश्न उठेको थियो । कार्यपालिका सदस्य अनुप देवानले बैठकमा सो कुरा उठाउनासाथ उनले जवाफ दिनुको सट्टा प्रश्न उठाएकोमा आक्रोश पोख्दै बैठकबाटै बाहिर जान चेतावनी दिएका थिए ।

कार्यपालिका बैठकको अध्यक्षता गरिरहेका साम्पाङले त्यहाँ उठेका प्रश्नको सहजता गर्नुको सट्टा फरक मत राख्नेहरु सबैलाई अभिव्यक्तिमा बन्देज लगाएका थिए । बैठकमा समावेश सबैले आपत्ति जनाउँदै माफी मागेर बैठक सुचारु गर्न आग्रह गरे पनि उनले मेयरको विरोध गर्न आएको भए विरोध गर्नेहरु बैठक छोडेर जानु भन्दै थर्काएका थिए । त्यसदिन भाँडिएको कार्यपालिका बैठक आजसम्म बस्न नसकेको श्रोतको भनाइ रहेको छ ।

जनताहरुले आफ्नो सानोतिनो काम लिएर आउँदा पनि आफ्नो तालिका बमोजिम श्रमदान गर्न नआएको भन्दै हप्कीदप्की गरेर पठाउने गरेको आरोप लागेका उनले कार्यपालिका सदस्यहरुले माफी माग्न र कार्यपालिकाको कामकारबाही सुचारु गर्न गरेको अनुरोध अस्वीकार गर्दै आएको बताइएको छ । सदस्यहरुले साम्पाङले आफ्नो गल्ती स्विकार गरी कार्यपालिकाको कामकारबाहीलाई नियमित गर्छन् भन्ने सोचमा रहेका सदस्यहरुको सोच वीपरित साम्पाङले भने आज फेरि त्यसैलाई लक्षित गरी सामाजिक सञ्जालबाटै आक्रोश पोखेका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्–धराने जनता जाग्ने बेला आयो अब १ बहुलजातजातिको बसोबास भएको सहरमा बहुसांस्कृतिक पार्क स्थापना गरौँ भन्ने विषयमा असहमति जनाउँदै बारम्बर कार्यपालिका वैठक बहिष्कार गरेर धरानलाई अनिर्णयको बन्दी बनाउन खोज्ने बिकास निर्माणमा पछि पार्न खोज्नेहरुलाई सोध्ने बेला आयो १

साम्पाङमाथि उपमहानगरपालिकाका सदस्यहरुले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, बिना निर्णय साबुन उद्योगको निर्माण कार्य सुरु गरेको, बीपी पार्कको नाम परिवर्तन गरी बिना निर्णय आफ्नो फोटो राखी श्रम संस्कृति पार्क नामकरण गरेको, सामाजिक सञ्जालमा तुच्छ शब्दहरू प्रयोग गरी गाली गलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीहरूलाई हप्किदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेको तथा जनताहरूले आफ्ना गुनासा तथा कामहरू लिएर आउँदा हप्कि दप्की गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्दा हालिएको लगायतका आरोपहरु लगाएका छन् ।

माथि उल्लेखित बुँदाहरु अन्तर्गत साम्पाङले गरेका गल्तीहरुमा माफी नमागे कार्यपालिका बैठक बस्न नसक्ने सदस्यहरुले बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ०७ बजे