चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

उपत्यकामा मेट्रो रेल चलाउन ललितपुरका मेयरद्वारा काठमाडौं महानगरपालिकालाई आह्वान



काठमाडौं । ललितपुर महागरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो रेल चलाउन आह्वान गरेका छन्। उनले काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा यस्तो बताएका हुन् । महर्जनले उपत्यकामा मेट्रो चलाउनको लागि काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेकोसमेत स्पष्ट पारेका छन् ।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव अगाडि सारे । उनले यसको लागि महानगरपालिकालाई चाँडै पहल गर्न सुझाए ।

मेयर महर्जनले भने, ‘काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’, ‘यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढाऔं।

काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रस्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौं । काठमाडौंले बूढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्‍याउन पायौँ भने एकदमै राम्रो हुन्छ ।

यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ ।’

महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को व्यापक सुधार गर्नुपर्ने औल्याए। सो ऐन स्थानीय पालिकाको लागि अफापसिद्ध भएको भन्दै यसमै सुधार हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : २७ बजे