बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

जनप्रतिनिधिले थाले माछा व्यवसाय



काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय गर्न थालेका छन् । उनले नगरलाई समृद्ध बनाउने सपना साकार पार्न आफूले व्यवसाय गरेको बताएका छन् । यसरी नै सबै जनप्रतिनिधिले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनले बताए । उनले नगरपालिकाकै वडा नम्बर ९ सेहरीमा ९ बिघा जमिन भाडामा लिएर माछा व्यवसाय सञ्चालन गरेका हुन् ।

विक्रम संवत् २०७८ सालमा ‘डोटीस्थित निरौली विद्यालयको जग्गा सम्झौता गरेर काम शुरू गरेका थियौं,’ उनले भने, । ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौं । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौं, केही अझै निकाल्न बाँकी छ ।’

उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसीबी प्रयोग गरेको भए ८ देखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो,’ उनले भने, ‘हामीले ट्रयाक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौं । यसले पोखरी दीगो बन्न मद्दत गर्छ ।’ उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए ।

उनले राजनीतिलाई सेवाका रूपमा बुझी स्वयं आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय शुरू गरेको बताए । २०७८ सालमै सञ्चालनमा ल्याइएको बीपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय शुरू गरेका हुन् ।

उनी फागुनदेखि ९ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताउँछन्।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : ३३ बजे