बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सुन्धारको मूल धारा नष्ट गरिएकोप्रति मेयर बालेनको असन्तुष्टि



काठमाण्डौ । धरहरा पुनर्निर्माणको क्रममा सुन्धारको मूल धारा नष्ट गरिएकोप्रति मेयर बालेनले असन्तुष्टि प्रकट गरेका छन् । उनले सुन्धारामा सुपानी पठाउने मूल धारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाण्डौको न्युरोडमा रहेको सङ्कटा क्लबमा आज सोमवार आयोजित पत्रकार भेटघाटमा मेयर शाहले नेपालको मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन् । रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठिक पछाडि ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा त्यो ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट हुन गएको भन्दै हिजो आइतवार स्थानीयवासी, क्लबका प्रतिनिधि तथा वडा नं. २२ का अध्यक्षको सक्रियतामा त्यो निर्माण कार्यको विरोध भएको थियो ।

त्यो विरोधपछि आज मेयर बालेन्द्र शाहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरि अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।

मेयर शाहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन् । त्यस अवसरमा मेयर शाह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुन्धारामा ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरि काम तत्काललाई रोक्न निर्देशन दिइएको छ ।

रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै त्यौ ट्याङ्की निर्माणलगायतका काम अघि बढाएको जानकारी दिँदै अहिलेलाई काम रोक्न कामदारलाई निर्देशन दिइएको बताए । त्यस अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति झन्डै दुई सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिए पनि त्यो पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ४६ बजे