बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

राष्ट्रपतिले कामचलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ : राप्रपा



काठमाडौं । राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु नहुने बताएका छन् ।

कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएका उनले काम चलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुरुवात भएको भन्दै आपत्ति जनाए ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ः

निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक शुरु हुने अवस्थामा काम चलाउ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ ।

देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाऊ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुुरुवात हो । राष्ट्रपति महोदयले कामचलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १२ : ५१ बजे