चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

यस्ता छन् प्रतिनिधिसभामा निर्वाचित महिला सांसद



काठमाडौं । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा पाँच राजनीतिक दलबाट ९ जना मात्रै महिला निर्वाचित भएका छन् ।

जसमा नेकपा एमालेबाट सबैभन्दा धेरै ४ जना महिला उम्मेदवार प्रत्यक्षमा निर्वाचित भएका छन् । माओवादीबाट १, कांग्रेस १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ र नागरिक उन्मुक्तिबाट १ जना महिलाले आगामी पाँच वर्षका लागि संसदीय यात्रा तय गरेका हुन् ।

निर्वाचित हुने महिला उम्मेदवारमा एमालेबाट विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी शाह र भगवती चौधरी, कांग्रेसबाट सीता गुरुङ, माओवादीबाट रेखा शर्मा, रास्वपाबाट सोविता गौतम र तोसिमा कार्की, नागरिक उम्ुक्तिबाट रञ्जिता श्रेष्ठ छन् ।

विद्या भट्टराई
नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी विद्या भट्टराई कास्की क्षेत्र–२ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरे । भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२४९५ मत पाए ।

भट्टराई एमाले नेता रवीन्द्र अधिकारीका श्रीमती हुन् । तत्कालिन पर्यटनमन्त्री हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि २०७६ को उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

भगवती चौधरी
एमालेको केन्द्रीय सदस्य रहेका भगवती चौधरी सुनसरी–३ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् ।

२०४८ यता सुनसरी ३ मा नेपाली कांग्रेसले निरन्तर जित निकाल्दै आएको थियो । तर, चौधरीको जीतसँगै ०४८ सालबाट कांग्रेसदेखि मधेसवादी दलबाट निरन्तर निर्वाचित भएर सांसद, मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदारको संसद र सत्ता यात्रामा यसपटक विश्राम लागेको छ ।

चौधरीले ४० हजार ७८८ मत पाउँदा पराजित गच्छदारले ३५ हजार ६०० मत पाए । यसअघि दुईपटकको निर्वाचनमा गच्छादारसँगै पराजित भएकी चौधरी राज्यमन्त्रीसमेत भइसकेका छन् ।

जुलीकुमारी महतो
एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो धनुषा–३ बाट निर्वाचित भएका छन् । महतोले ९ हजार ६६९ को मतान्तरले लोसपाका अनिलकुमार झालाई पराजित गरे । महतोले ३३ हजार ३५५ मत ल्याउँदा झाले २३ हजार ६८६ मत पाए ।

२०६४ र २०७४ मा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी उनी २०७० को निर्वाचनमा पराजित भएकी थिइन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत भइसकेकी छन् ।

ज्वालाकुमारी साह
एमालेकी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह बारा–३ बाट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी जसपाका रामबाबुकुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरे ।

साहले २० हजार २५१ मत ल्याउँदा यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । माओवादी पृष्ठभूमिकी उनी अघिल्लो निर्वाचनमा बारा–३ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि एमाले प्रवेश गरेकी उनलाई केपी ओलीले संघीय सरकारको कृषि तथा पशुपक्षी विकासमन्त्री बनाएका थिए ।
सीता गुरुङ
प्रतिनिधिसभामा तेह्रथुमबाट नेपाली कांग्रेसका सीता गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार बिजय सुब्बालाई १ हजार ७६ मतान्तरले पराजित गरे ।

गुरुङले १९ हजार ७०७ मत ल्याउँदा सुब्बाले १८ हजार ६३१ मत पाए । प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये ९१ स्थानमा उम्मेदवारी दिएको कांग्रेसबाट एक जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका हुन् ।

रेखा शर्मा
त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि प्रत्यक्षतर्फ एक जना मात्रै महिला निर्वाचित भएका छन् । माओवादीको स्थायी समिति सदस्य समेत रहेकी रेखा शर्मा दाङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले पराजित गरे ।

शर्माले २६ हजार ८८० मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८७ मत पाए । पूर्वमन्त्रीसमेत भइसकेका शर्माले तेस्रोपटक संसदीय यात्रा तय गरेका हुन् ।

रञ्जिता चौधरी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मदेवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरे । चौधरीले ३० हजार ४०४ मत ल्याउँदा रामजनमले १८ हजार ८१ मत पाएका छन् ।

तोसिमा कार्की र सोविता गौतम
आमनिर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला प्रतिनिधिसभ सदस्य निर्वाचित भएका छन् ।

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको रास्वपाले देशरबाट ११ जना महिला उम्मेदवार उठाएको थियो । जसमध्ये ललितपुर ३ बाट डा. तोसिमा कार्की र काठमाडौं क्षेत्र–२ बाट सोविता गौतम निर्वाचित भएका छन् ।

ललितपुर ३ बाट निर्वाचित कार्कीले एमालेका अमृत खड्कालाई पराजित गरे । उनले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत पाए ।

त्यस्तै काठमाडौं २ बाट निर्वाचित गौतमले एमालेका उम्मेदवार मणिराम फुयाललाई ३ हजार ६७४ मतान्तरले पराजित गरे । उनले १५ हजार २२९ मत पाउँदा पराजित फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : ३८ बजे