बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

बागमती किनारका नक्कली सुकुम्बासी हटाउन बालेन एक्सनमा, प्रधानमन्त्री देउवाको समर्थन



काठमाडौं । वर्षौदेखि अनाधिकृत रुपमा बागमती किनार कब्जा गरेर नक्कली सुकुम्बासी बनेर बसिरहेका अतिक्रमणकारीलाई हटाउन काठमाडौं महानगरपालिकाले एक्सन लिएको छ ।

मेयर बालेन शाहले बागमती नदी किनार कब्जा गरेर बसेको बस्ती हटाउन सोमबार डोजर परिचालन गरेका छन् । यद्यपि नक्कली सुकुम्बासीहरुलाई प्रतिकारमा उत्रिएका छन् । यहाँका नक्कली सुकुम्बासीलाई सक्कली मान्दै बाबुराम भट्टराई नेतृत्वको सरकारले ०६८ सालमै पुनर्स्थापना गर्न खोजेको थियो । यसका लागि बालाजुमा विशाल अपार्टमेन्टसमेत निर्माण गरिएको छ ।

तर बागमती किनारको जग्गा हड्प्ने मनसायका साथ नक्कली सुकुम्बासीहरु सर्न मानेनन् । उनीहरु नसर्दा उक्त अपार्टमेन्ट भुत बंगलाजस्तो भएको छ । अहिले आफूहरुको पुनर्स्थापना नगरी डोजर लगाएको भन्दै रुवाबासी गरिरहेका छन् ।

यहाँ नक्कली सुकुम्बासीहरुलाई हटाउन बालेनले पटक पटक सार्वजनिक सूचना जारी गरेर आह्वान नगरेका होइन । पटक पटक अल्टिमेटम दिएका पनि हुन् । तर हट्न नमानेपछि डोजरबाट एक्सन लिएसँगै विरोधीहरुले आँसुको व्यापार सुरु गरेका छन् । व्यवस्थापन बिना हटाउन नहुने अर्ती दिइरहेका छन् । यद्यपि व्यवस्थापन केन्द्र सरकारले गर्ने हो ।

यसैक्रममा यहाँका सुकुम्बासीको व्यवस्थापनका लागि मेयर बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । अनधिकृतक संरचना हटाउन सरकारको सहयोग माग्दै बालेनले देउवा भेटेका हुन् । बालेनले अनधिकृत संरचना हटाउन सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन, प्रहरी बलबाट सहयोग नपाएको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेको स्वकीय सचिव भूपदेव साहले बताए ।

बालेनको गुनासोपछि प्रधानमन्त्री देउवा बागमती नदी किनारमा रहेको बस्ती हटाउनका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यता बालेनले सामाजिक सञ्जालमा ‘बालेन शाहको ज्यान खतरामा छ’ भन्ने नक्कली सुकुम्बासीको भिडियोमा ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ?’ भनेर प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ३९ बजे