बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

यसरी भयो कांग्रेसमा नयाँ अनुहारको उदय



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६ नयाँ अनुहारले चुनाव जितेका छन् । पार्टीमा लोकप्रिय र स्थापित भइसकेका नेताहरूसहित जिल्लास्तरका नेता गरी यसपटक कांग्रेसबाट चुनाव जितेर १६ जना नयाँ अनुहारले संसदीय यात्रा तय गरेका छन् ।

अहिलेसम्म कांग्रेसले जितेका ५३ मध्ये ३७ जना भने प्रत्यक्ष वा समानुपातिकबाट यसअघि नै संसद्को अनुभव संगालिसकेका नेताहरू छन् । पहिलो पटक संसदीय यात्रा तय गर्नेमा महामन्त्री विश्वप्रकाश शर्मादेखि २९ वर्षे योगेश गौचनसम्म छन् । यसपटक पाँच जना जिल्ला सभापति र एक क्षेत्रीय सभापतिले पनि चुनाव जितेका छन् ।

तेस्रो प्रयासमा चुनाव जितेका महामन्त्री शर्मा पहिलो पटक संसद् प्रवेश गर्दैछन् । उनी झापा–१ बाट निर्वाचित भएका हुन् । उनी ०७० र ०७४ मा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । तर यसपटक पार्टीको लोकप्रिय महामन्त्रीको रुपमा समेत रहेका शर्माले फराकिलो अन्तरसहित चुनाव जितेर संसद् प्रवेश गरेका छन् ।

उनले झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए ।

अर्का युवा नेता प्रदीप पौडेलले भने पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका छन् । उनी ०७४ मा प्रदेशसभा सदस्यमा लडेका थिए । तनहुँका पौडेल त्यहीबाट चुनाव लड्न प्रयासरत थिए । तर, अन्य हृभीवेट नेताले तनहुँका दुवै क्षेत्रमा दाबी नछोड्दा काठमाडौं–५ बाट उम्मेदवार बनेका पौडेलले पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । उनले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरे । पौडेलले १५ हजार २३७ मत ल्याउँदा पोखरेलले १० हजार १७५ मत पाए ।

पर्यटन व्यवसायी समेत रहेका केन्द्रीय सदस्य राजेन्द्र बजगाईले गोरखा–१ बाट चुनाव जितेका छन् । बजगाई पनि पहिलो पटक संसद् प्रवेश गर्दैछन् । बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत पाएका थिए ।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरले पनि चुनाव जितेर संसद्को यात्रा तय गरेका छन् । उनले सिन्धुली–१ मा एमालेका प्रदीपकुमार कटुवालाई ४ हजार ८४५ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले ३० हजार ३९१ मत ल्याए भने कटुवालले २५ हजार ५४६ मत पाएका छन् ।

भक्तपुर, मुगु, म्याग्दी, अछाम र रामेछाप कांग्रेसका सभापतिहरूले पनि पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । दोस्रो पटक भक्तपुर सभापति रहेका दुर्लभ थापाले पहिलो प्रयासमै चुनाव जिते, र यहीपटक संसद्को यात्रा तय गरेका छन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले पराजित गरेका थापाले २४ हजार २३९ मत ल्याएर जिते भने बस्नेतले २३ हजार २८२ मत पाए ।

मुगुका जिल्ला सभापति ऐनबहादुर शाहीले जितेका छन् । उनी दोस्रो पटक उम्मेदवार बनेका थिए । उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने कार्कीले १० हजार ७०८ मत ल्याए । त्यस्तै, निर्माण व्यवसायी समेत रहेका रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले पनि यसपटक चुनाव जिते । ०७० मा पार्टीको समानुपातिक बन्द सूचीमा परेका उनी ०७४ मा भने प्रत्यक्षतर्फ प्रत्यासी थिए । उनले पनि दोस्रो प्रयासमा परिणाम निकालेका हुन् । यसपटक उनले एमालेका कैलाश ढुंगेललाई १६ हजार २६९ मतान्तरले पराजित गरे । तामाङले ४७ हजार ९८ मत ल्याएका छन् भने ढुंगेलले ३० हजार ७२९ मत पाएका छन् ।

उता अछामका सभापति पुष्पबहादुर शाहले पनि दोस्रो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । शाहले नेकपा एमालेका यज्ञबहादुर बोगटीलाई ६ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । यसअघि ०७४ मा भने बोगटीले शाहलाई पराजित गरेका थिए । यसपटक शाहले २२ हजार ९५४ मतसहित जितेका हुन् । बोगटीले १६ हजार ११४ मत ल्याए ।

म्याग्दीका सभापति खमबहादुर गर्बुजाले पनि चुनाव जितेका छन् । गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले जितेका हुन् । उनले २४ हजार २१ मत पाएका छन् भने श्रेष्ठले २० हजार १८९ मत ल्याएका छन् ।

कांग्रेसबाट निर्वाचित भएकामध्ये सबैभन्दा कान्छा सांसद् हुन् मुस्ताङका योगेश गौचन थकाली । २९ वर्षीय उनी युवा जोस् र जाँगरसहित संसद् प्रवेश गर्दैछन् । योगेशले ९१४ मतान्तरसहित एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् । उनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत ल्याए ।

यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका सन्तोष चालिसे काठमाडौं–३ बाट निर्वाचित भएका छन् । मेयर हुँदा लोकप्रिय काम गरेका चालिसेले एमालेका कृष्णकुमार राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरेका छन् । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

दैलेख–२ बाट दिक्पालकुमार शाहीले संसद्को यात्रा तय गरेका छन् । उनी यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एकपटक प्रदेश सांसद्कोरुपमा काम गरेका उनी यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले १५३ मतान्तरले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका हुन् । शाहीले २० हजार १५८ मत पाउँदा पोखरेलले २० हजार ५ मत पाएका छन् ।

उता सप्तरीमा ०५४ मै जिल्ला विकास समितिको सभापति भएर काम गरेका दिनेशकुमार यादवले चौथो प्रयासमा संसद्को यात्रा तय गरेका छन् । उनले सप्तरी–३ बाट चुनाव जितेका हुन् । उनी यसअघि तीन पटक यही क्षेत्रबाट उम्मेदवार थिए । यसपटक भने उनले एमालेका ताराकान्त चौधरीलाई ३ हजार ८६६ मतान्तरले पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाएका छन् ।

नवलपरासी पुर्व–२ बाट विष्णुकुमार कार्की विजयी भएका छन् । उनी पनि पहिलो पटक संसद्को यात्रा तय गर्न सफल भएका छन् । ०७४ मा पराजित उनले यसपटक भने एमालेका तिलकबहादुर महत क्षेत्रीलाई ५९४ मतान्तरले हराए । कार्कीले ३० हजार ५६८ मत ल्याउँदा क्षेत्रीले २९ हजार ९७४ मत पाए ।

कैलाली कांग्रेसका पुर्वजिल्ला सभापति डिल्लीराज पन्त कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रदेशसभा सदस्य थिए । पन्तले एमालेका निवर्तमान सांसद् नारदमुनि रानालाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । पन्तले २१ हजार ३९१ मत ल्याए भने रानाले २० हजार ३१८ मत पाए । रानाले ०७४ मा कांग्रेस नेता आरजु राणालाई पराजित गरेका थिए ।

चर्चित व्यवसायी एवम् मेडिकल सञ्चालक सुनिलकुमार शर्माले पनि यसपटक संसद्को यात्रा तय गरेका छन् । मोरङ–३ बाट निर्वाचित उनी ०७४ मा पनि उम्मेदवार थिए । त्यसबेला एमालेका भानुभक्त ढकालसँग पराजित भएका शर्माले यसपटक उनै ढकाललाई २२ हजार ७३६ मतान्तरले हराएका छन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत पाए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २७ बजे