मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जना घाइते



सिन्धुपाल्चोक ।दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढथोकीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो ।

उनका अनुसार बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको उनले बताए ।

‘११ घाइतेको अवस्था आहिले सामान्य छ, केही त घर फर्किरहेका छन्, चालकलाई नियन्त्रणमा लिएका छौं, आवश्यक सोधपुछ र थप अनुसन्धान भइरहेको छ,’ डीएसपी बुढाथोकीले भने ।

आर्थिक वर्ष २०७६ र७७ मा मात्रै सिन्धुपाल्चोकमा सानाठूला गरी १० वटा सवारी दुर्घटना भए । जसमा ४८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष लगातार भएको ३ वटा यात्रुवाहक बस दुर्घटनाबाट मात्रै ४४ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न समय र स्थानमा भएको पाँच दुर्घटनामा झण्डै दुई सयभन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तंथ्याक छ ।

वर्षैपिच्छै सुनकोसी र भोटेकोसी किनार क्षेत्र हुँदै राजधानी जोड्ने अरनिको राजमार्गमा बस दुर्घटना भइरहेको देखिन्छ । गएको १३ वर्षमा मात्रै जिल्लामा ८ वटा ठूला दुर्घटनामा ३८ जनाको मृत्यु भएको र तीन सयभन्दा बढी घाइते भएका छन् । यसअघि कोदारी र अरनिको राजमार्गका विभिन्न खण्डमा सुनकोसी र भोटेकोसीमा सवारी खस्दा धेरै संख्यामा ज्यान जाने गरी चार वटा दुर्घटना निम्तिएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरीका प्रमुख प्रहरी नायब निरीक्षक उत्तमराज आचार्यले सवारी दुर्घटना रोक्न प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : २७ बजे