बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

पाँचौं पटकमा बने दीपकसिंह प्रतिनिधिसभा सांसद



काठमाडौं । मकवानपुरको दुवै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन पराजित भएको छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह विजयी भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेशकुमार बर्तौला निर्वाचित भएका हुन् । क्षेत्र नम्बर १ मा निर्वाचित भएका सिंहले पाँचौँ प्रयासमा सफलता हासिल गरेका छन् । यसअघिका निर्वाचनहरूमा पटक–पटक सिंह झिनो मतान्तरले पराजित हुँदै आइरहेका थिए ।

लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २३ सय ९३ मतले हराउँदै सिंह विजयी भएका हुन् । सिंह २७ हजार ८ सय १६ मतले विजयी भएका हुन् । उनका प्रतद्वन्द्वी २५ हजार ४ सय २३ मत ल्याएर दोस्रो भएकी हुन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भएका छन् । यस क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा उम्मेदवार बनेका सिंहले राम्रो मत प्राप्त गरेकै कारण सत्ता गठबन्धनमा रहेका उम्मेदवारहरूलाई गठबन्धनका उम्मेदवारहरू भन्दा पनि सिंह सँगको भिडन्त चुनौती पूर्ण हुने आकलन गरिएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बनेका थिए । दोस्रोमा रहेको एमालेका उम्मेदवार अनन्त पौडेल भन्दा ३ सय मत मात्रै कम पाएका सिंहले राप्रपाको मात्रै नभई गठबन्धनमा रहेका र एमालेकै मत तानेको राजनीतिज्ञहरूको दाबी छ ।

हेटौंडामा मात्रै होइन मकवानपुरमै जनाधार कम रहेको राप्रपाको स्थानीय तहको मतलाई विश्लेषण गर्दै दीपक सिंहलाई आएको भोट काट्ने रणनीति वाम गठबन्धनकी उम्मेदवार डीना र एमाले–राप्रपा नेपाल का उम्मेदवार कमल थापाको थियो । सोमबार बिहानदेखि सुरु भएको मतगणना बुधबार साँझ सम्म आइपुग्दा पनि १२ हजार मत कटाउन नसकेका सिंहले रातभरमा भारी मत ल्याउन सफल भए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३२ बजे