चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

यी हुन् काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा जित निकाल्ने अनुहार



काठमाडौँ । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदिप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट विजयी भएका छन् । त्यस्तै काठमाडौं, क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीकी सोविता गौतम, क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल, क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

यसैगरी क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । २०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेसले ४ वटा क्षेत्रमा मात्रै सफलता प्राप्त गरेको थियो । २०७४ मा १ देखि १० सम्म क्रमशः प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगन थापा, ईश्वर पोखरेल भिमसेन दास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र केसी निर्वाचित भएका थिए । नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए । यसपटकको निर्वाचनमा तीमध्ये सिंह, थापा, कृष्णगोपाल श्रेष्ठ र केसी फेरि विजयी भएका छन् ।

यसपटक क्षेत्र नम्बर १ मा सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बने । मिश्रले ७ हजार १८ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले एमाले उम्मेदवार मणिराम फुयाललाई हराएकी छन् । उनले १५ हजार २ सय २९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । पूर्व सांसद राईलाई हराउँदै क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे विजयी भए । चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गर्दा राईले ११ हजार १ सय ९६ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा गगन थापाले २०७४ कै प्रतिस्पर्धी राजन भट्टराईलाई हराएका हुन् । थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल एमाले नेता ईश्वर पोखरेललाई हराउन सफल भए । उनले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मत ल्याए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ५१ बजे