बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

प्रकाशमान भन्छन्, मलाई जनताले प्रधानमन्त्रीको रूपमा हेर्नै चाहेका छन्



काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताले उपप्रधानमन्त्री बनाइसकेको र अब प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएको दाबी गरे।

‘चौथो पटकको चुनाव भिड्न लागिरहेको वेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहेका छन्’, उनले भने, ‘हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छौँ, तपाई प्रधानमन्त्री हुनुपर्‍यो भनिरहेका छन्।’

उनले आसन्न निर्वाचनमा जित हासिल गरेपछि पहिलो काम खानेपानीको समस्या समाधान गर्ने बताए। साथै सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने बताए । शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने पनि बताए।

‘यसअघि घरदैलोमा जाँदा किन भोट दिने भनेर गाली गर्थे। तर यसपटक सबैले समर्थन गरेका छन्’, उनले भने, ‘खानेपानी कहिले भनिरहेका छन्। स्वास्थ्य, शिक्षाको सेवा राम्रो हुनुपर्छ भन्ने छ । शिक्षाको गुणस्तरमा समानता ल्याउन हामी हेर्नेछौँ।’

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका उल्लेख्य काम गरेको बताए। त्यसैले यो पटक घरदैलोका क्रममा जनताले सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ४८ बजे