बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

प्रचण्डविरुद्ध उठेका एमालेका उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण



काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।

आइतबार राति पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले बियरको बोत्तलले आक्रमण गरेको हो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्ले गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिरसहित अब्दुसले घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । त्यस्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकी ३ जना फरार भएका छन्।’

गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ४० बजे