बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

संस्कारसहितको गुणस्तरी शिक्षाको लागि मेरो उम्मेदवारी : कुन्ती पोख्रेल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा संस्कारसहितको गुणस्तरीय शिक्षाको नीति नै बनाउन आवश्यक भएकाले नीतिनिर्माण दतहमा लड्न आफूले उम्मेदवारी दिएको बताएकी छिन् । उनले शंखरापुर नगरपालिकाका मतदातासँग आज आइतबार भएको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

पोख्रेलले शिक्षामा व्यापक व्यापारीकरण बढेको भन्दै सामुदायिक विद्यालयलाई संस्कारसहित गुणस्तीय बनाउनुपर्छमा जोड दिएकी छन् । अहिले मुलुकमा दुई किसिमका शिक्षालय भएकाले शिक्षामा व्यापारीकरण बढेको भन्दै त्यसको फाइदा निजीले महंगो शुल्क असुलेर लिने गरेको बताएकी छन् ।

उनले राज्यले शिक्षाको लागि जति बजेट खर्चिने गरेको त्यो सही ठाउँमा उपयोग नभएको भन्दै व्यवसायिक र सीपयुक्त शिक्षाको लागि तालीम प्राप्त शिक्षक, विद्यार्थीमैत्री वातावरण र समयानुकूल प्रविधिको आवश्यकता रहेको औल्याइन् । पोख्रेलले अहिले पनि बिजुली, खानेपानी र टेलिफोनको भुक्तानी बुझाउन लाइन बस्ने चालन कायमै रहेको भन्दै यस्ता कामहरु प्रविधिको माध्यमबाट घरमै बसेर गर्न सकिने बताएकी छन् ।

विद्यार्थीमा प्रविधिको ज्ञान दिन पाठ्यक्रममै व्यवस्था हुनुपर्नेमा जोड दिएकी थिइन् । उनले भनिन्, ‘यदि मैले चुनाव जितेर प्रतिनिधि सभामा पुगेँ भने प्रविधिमैत्री शिक्षा लागु गर्नको लागि नीतिनिर्माण तहमा आवाज उठाउने बताइन् । उनले भनिन्, ‘जब मुलुकमा सामुदायिक विद्यालय भरपर्दो, गुणस्तरीय र विद्यार्थीमैत्री हुँदैन तबसम्म मुलुकमा सबैका लागि निःशुल्क शिक्षाको कल्पना गर्न नसकिने भन्दै त्यसको लागि आफूले संसद्मा भूमिका खेल्ने उल्लेख गरिन् ।

उनले नेपालको शिक्षामा प्राविधिक सीपयुक्त ज्ञान नभएकाले शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने खारखाना जस्तो भएको भन्दै यसले युवा विदेश पलायन हुन वाध्य पारेको प्रष्ट्याइन् । युवा विदेश पलायन हुनबाट रोक्नका लागि पनि सीपयुक्त व्यवसायिक प्राविधिक शिक्षाको आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि आफूले नीति बनाउन जोडबल गर्ने बताइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४२ बजे