चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

माओवादीलाई असहयोग गरेको आरोपमा रुकम कांग्रेसका आधादर्जन नेता, कार्यकर्तालाई सोधियो स्पष्टीकरण



काठमाडौं । नेपाली काँग्रेस रुकुम पश्चिमले नेकपा माओवादीको चुनावी प्रचारप्रसारमा सहयोग नगरेको भन्दै नेपाली काँग्रेस रुकुमका प्रभावशाली नेताहरूलाई स्पष्टीकरण सोधेको छ ।

देउवा पक्षको दबाबका कारण जिल्लामा माओवादीले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी नभएको, माओवादीलाई भोट नमागेको जस्ता आरोपमा कांग्रेसका जिल्लास्तरीय नेताहरूलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

महासमिति सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार तिलकबहादुर भण्डारीसहित नेविसंघका पूर्वउपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खड्गबहादुर डाँगी , पूर्वजिल्ला उपसभापति वीरबहादुर ओली, तरुणदल जिल्ला सभापति लोकेन्द्र केसी, शिक्षक संघ अध्यक्ष तारा चन्दलगायत आधादर्जन नेताहरुलाई स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणपत्रमा गठबन्धनलाई सहयोग नगरेको, गठबन्धनका कार्यक्रम, सभा सम्मेलन र बैठकमा सहभागी नभएको स्वतन्त्र उम्मेदवार तारक केसीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै २४ घण्टे स्पस्टिकरण सोधिएको छ ।

स्पष्टीकरणबारेमा काँग्रेस नेता खड्गबहादुर डाँगीसँग बुझ्न खोज्दा आफूलाई कुनै त्यसबारे कुनै जानकारी नभएको बताएका छन्। कताकता मिडियामा हल्ला सुनेको थिएँ, कसले सोधेको हो रु कसैलाई बुझाउने स्पष्टीकरण रु केही थाहा नभएको प्रतिक्रिया डाँगीले दिए । डाँगी रुकुमका लोकप्रिय युवा नेता हुन् ।

स्पष्टीकरण सोधिएका सबैजसो कांग्रेस रुकुमको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्ने नेताहरू हुन्। स्पष्टीकरणपत्रमा चित्त बुझ्दो जवाफ पेश नगरेमा र गठबन्धनलाई नसघाएमा थप कारबाही अगाडि बढाउने निर्देशनसमेत उल्ले छ । उसो त महासमिति सदस्य भण्डारी गठबन्धनका उम्मेदवार जनार्दन शर्मा सहभागी बैठकमा समेत उपस्थित भएका थिए ।

तर, गठबन्धनका कुनै पनि बैठक र सार्वजनिक कार्यक्रममा सहभागी नभएकी प्रदेश समिति सदस्य सीता ओलीलाई भने स्पस्टिकरण सोधिएको छैन, उनी देउवा निकट हुन् । नेपाल शिक्षक संघकी अध्यक्ष तारा चन्दलाई समेत यो आरोपमा डामिएको छ । जबकी शिक्षकलाई प्रत्यक्ष राजनैतिक गतिविधिमा सहभागी हुन नपाउने नियम छ, तर चन्दलाई समेत पत्र थमाइएको छ । चन्द यी कुनै पनि गतिविधिमा संलग्न छैनन् ।

रुकुम पश्चिममा प्रदेशदेखि प्रतिनिधि सभा उम्मेदवार सबै नेकपा माओवादीका छन् । केन्द्रमा गठबन्धन भए पनि रुकुम पश्चिममा उम्मेदवारी दर्ता गरेको भोलिपल्टसम्म जिल्लामा गठबन्धनको टुंगो थिएन । त्यहीं कारणले नेता÷कार्यकर्ताहरु अलमलमा थिए ।

तर अहिले विषेश गरी देउवा पक्षका तीन जना नेताहरू गोपालजी जंग शाह, मानबहादुर नेपाली र कृष्ण रोकाय जिल्लामा गठबन्धन भन्दै माओवादीको पछिपछि लागेका छन् । जिल्लाका अरु नेता कार्यकर्ताहरुलाई पनि माओवादीलाई भोट हाल्नुपर्छ प्रचारप्रसारमा जानुपर्छ भन्दै यी तीन नेताहरूले दबाब दिइरहेका छन् । जिल्लामा आत्मासम्मानसहितको गठबन्धन नभएको भन्दै करिव ९०५ नेता कार्यकर्ताहरु पूर्ण रुपमा रुष्ट रहेको काँग्रेस रुकुमका एक नेता बताउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : ३३ बजे