कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

काठमाडौं महानगरद्वारा वार्षिक खरिद योजनाबारे छलफल सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक खरिदबारे छलफल थालेको छ । वार्षिक खरिदबारे विभागीय प्रमुख, परामर्शदाता, सामुदायिक सेवा केन्द्रका अधिकारी लगायतसँग छलफल अघि बढाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जनाएका छन् ।
परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाइका प्रमुख ध्रुव काफ्लेले भने, ‘चालु आर्थिक वर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिदसम्बन्धी कार्यविभाजन र खरिद कार्यको वर्गीकरणअनुसार ‘प्याकेजिङ’ गरेर १ हजारको हाराहारीमा राख्न सकिने निष्कर्ष छलफलले निकालेको छ ।’

‘योजनाको ‘प्याकेजिङ’ र ‘स्लाइसिङ’ नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौं । यस वर्षदेखि ‘प्याकेजिङ’को काम थालिएको छ’ काफ्लेले भने ।

महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित विषयमा छलफल भएको अधिकारीले बताए । मंसिरदेखि धेरै काम सुरु हुने विभागीय प्रमुखहरुको भनाइ रहेको उनले बताए । यसअघि थालिएका कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ ।

छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको अधिकारीले बताए ।

छलफलमा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको महानगरले जनाएको छ । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना ‘प्याकेजिङ’ गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५८ बजे