बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका १० संकल्प



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका बद्री पाण्डेले आफ्ना १० वटा चुनावी संकल्प सार्वजनिक गरेका छन् ।

पाण्डेले राजनीतिक सुधारमार्फत सामाजिक रुपान्तरणमा जोड दिएका छन् । प्रतिनिधिसभाको पूर्ण कार्यकाल, निष्ठावान र नैतिक राजनीतिक नेतृत्व विकास, समृद्धि र नीतिगत स्थायित्वलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

आफ्नो पहिलो संकल्पमा उनले गृहजिल्लाका समस्याका विषयलाई पनि समेटेका छन् । गुणस्तरीय पूर्वाधार विकास अन्तर्गत साँफे–मार्तडी–कोल्टी सडक स्तरोन्नति, कर्णाली कोरिडोरको स्तरोन्नती, सेती लोकमार्ग निर्माणलाई तीव्रता दिने उनको संकल्प छ ।

विकासका लागि विद्युतीकरणअन्तर्गत राष्ट्रिय प्रसारण लाइन विस्तार, कबाडी खोला जलविद्युत विकासलगायतका केही परियाजना निर्माणमा जोड दिने उनको संकल्प छ ।

जडीबुटीको व्यावसायिक खेती विस्तार, एकीकृत कृुषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन, कृषिलाई प्राविधिक र यान्त्रिक सहयोगलगायत योजना उनको संकल्पमा समेटिएको छ ।

एकीकृत बस्ती विकास, महिला दलित विपन्न अपांग र असहाय लक्षित कार्यक्रम, सँगै बसौँ, सँगै अघि बढौँलगायतका कार्यक्रममार्फत सामाजिक विकास र सुशासन कायम गर्ने उनको संकल्प छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : ४० बजे