बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

गठबन्धन रहर होइन, विकास र समृद्धिका लागि राष्ट्रिय आवश्यकता हो : बडुवाल



भगत बहादुर बडुवाल, प्रतिनिधिसभा सदस्य उम्मेदवार कैलाली क्षेत्र नं. २, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका कर्मठ तथा जुझारु नेता हुन् भगत बडुवाल । कैलालीका स्थानीयवासी बडुवालले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि कैलाली क्षेत्र नं. २ मा गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका बडुवाल जनताका कामप्रति सधैं दत्तचित्त भएर लागिपर्ने इमानदार नेताको रुपमा चिनिन्छन् । किसान, मजदुर र भूमिहीनका पक्षका आवाज बुलन्द गर्ने उनी श्रमिक नेता र स्पष्ट वक्ताको रुपमा जनताबीच परिचित छन् । मिजासिलो स्वभाव र स्वच्छ छविका कारण कैलालीका जनतामाझ उनलाई लोकप्रिय नेता मानिन्छन् । उनै नेता बडुवालसँग आमनिर्वाचनमा केन्द्रित रहेर पालिका समयका लागि कमलबहादुर बोहराले गरेको कुराकानीको सम्पादित अंश :

चुनावी तयारी कसरी अगाडि बढेको छ त ?
चुनावी माहोलको कुरा गर्नुपर्दा अहिले तिहारको समय भएकाले शुभकामना आदनप्रदान तथा भेटघाट गरेर अगाडि बढिरहेको छ । तिहारपछि नयाँ तयारीका साथ अगाडि बढ्ने विचारमा छौं । हाम्रो गठबन्धनको तर्फबाट सबै एकजुट भएर चुनाव प्रचारप्रसादमा जुट्ने भनेर लागिपरेका छन् ।

यो चुनावमा गठबन्धन कत्तिको अनुसासित भएर जान्छ भन्ने लाग्छ ?
आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धन सम्पूर्ण तरिकाले एकजुट भएर लाग्ने तयारी छ । कैलाली क्षेत्र नं. २ खासगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको राम्रो पकड भएको ठाउँ हो । त्यसपछि राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक फोहोरका पनि केही साथीहरु हुनुहुन्छ ।

अन्यका दलका पनि छिटफुट साथीहरु हुनुहुन्छ । हामीले गठबन्धनमा संलग्न सबै दलहरुको संयुक्त आयोजना चुनाव परिचालन कमिटी बनाएका छौं । घरदैलो तथा भेटघाटलाई पनि त्यसरी नै अगाडि बढाएका छौं । गठबन्धनका नेतादेखि वडास्तरका साथीहरुसम्म अनुसासित ढंगले एकढिक्का भएर जाने निर्णय गरेका छौं । वडास्तरका केही मतभेदहरु हुनसक्छन् । तर, उहाँहरुलाई पनि मिलाएर एकढिक्का भएर अगाडि बढ्ने निर्णय गरेका छौं ।

आगामी चुनावी आमसभाहरुको कस्तो तयारी हुँदै छ ?
हामीले यसपालिको चुनाव प्रचारलाई परम्परागतभन्दा पनि फरक शैलीले लाने निर्णय गरेका छौं । पहिलाको जस्तो धेरै आमसभा, कार्यक्रम गर्ने भन्दा पनि कसरी हुन्छ बढीभन्दा बढी मतदातासम्म पुग्ने कार्यक्रम रहेको छ । आमसभा भन्दा पनि मतदातासँग भेटघाट गर्दा बढी प्रभावकारी हुने भएकाले त्यसमा ध्यान दिइरहेका छौं । फेरि गठबन्धन दलकै साथीहरु प्रचारप्रसारलाई कसरी प्रभावकारी बनाएर जनताको घरदैलोमा पुग्न सकिन्छ भनेर छलफल, बहस निरन्तर चलाइरहनुभएको छ ।

अन्य उम्मेदवारहरुले तिहारमा देउसीभैलो, भेटघाटलाई तीब्रता दिएको पाइयो, तपाईंहरुको त्यसमा खासै प्रभाव देखिएन नि ?
हामी आफै भन्दा पनि जहाँ साथीहरुले बोलाउनुभयो । जहाँ उहाँहरुले कार्यक्रम राख्नुभयो । ती ठाउँमा हामी एकछिन पनि नबसी पुग्ने काम ग-यौं । देउसीभैलो भनेर चाही भएन । तर, घेटघाटलाई चाहीं बिहानदेखि साँझसम्म जारी राखियो । व्यक्तिगत तथा सामूहिक भेटघाटलाई बढीभन्दा बढी समय दिएका छौं । ती कार्यक्रमहरु बाहिर मिडियामा नआएर त्यस्तो देखिएको होला । जनतामा पुग्ने, उहाँहरुका कुरा सुन्न र आफ्ना पनि राख्ने काममा कुनै कसर बाँकी राखेका छैनौं ।

कैलाली क्षेत्र नं. २ मा तपाईंलगायत प्रदेशमा को को हुनुहुन्छ ?
कैलाली क्षेत्र २ को प्रतिनिधि सभा सदस्यमा म छु । त्यसपछि प्रदेश ‘क’ मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष कमलबहादुर शाह हुनुहुन्छ । ‘ख’ मा यसअघि पनि माओवादीले नै जितेकाले हिजोको समझदारी अनुसार माओवादीले नै प्राप्त गरेको छ । यस क्षेत्रमा हामी संघ, प्रदेश सबै एकमतका साथ चुनावी अभियानमा जुटेका छौं । यो चुनावमा को कांग्रेस, को माओवादी, को समाजवादी भन्ने छैन ।

सबैले सबैलाई मत मागेका छौं । यहाँ नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारीहरु, अग्रज नेता, कार्यकर्ताहरु लागिपर्नुभएको छ । त्यसैगरी माओवादी केन्द्रका पनि पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, समाजवादीका नेता कार्यकर्ता सबै एकजुट भएर गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा जुटेका छौं । फेरि कैलाली २ का गठबन्धनमा संलग्न कुनै दलका साथीहरुमा खासै मनमुटाव छैन । त्यसकारण पनि हामीले यो चुनाव सजिलै जित्ने आँकलन गरेका छौं ।

त्यसोभए तपाईंहरुले गठबन्धनको तर्फबाट सानदार चुनाव जित्नुहुन्छ हो ?
यो क्षेत्रमा हामी गठबन्धनमा संलग्न दलहरुको अत्याधिक मतभार छ । त्यो मतलाई कसरी संरक्षण गर्ने भन्नेमा हामीहरु लागिरहेका छौं । गठबन्धनबाहेक अरु पार्टीहरुमा आस्था राख्ने साथीहरुको पनि भरोसा हामीसँग छ । त्यसकारण चारैतिरबाट आकर्षित भएको मतलाई कसरी जोगाएर एक ठाउँमा ल्याउने भन्नेमा हामी केन्द्रित छौं । त्यसको लागि आन्तरिक र वाह्य तयारीहरु भइरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले त सत्तागठबन्धनको हल्ला मात्रै हो, चुनाव त हामीले जित्छौ भनेका छन् नि के भननुहुन्छ ?
उहाँहरु चुनावमा भाग लिनुभएको हामी दरो छौं, हामीले जित्छौं नभने जनताले पत्याउँदैनन् । उहाँहरुलाई जनताले कत्तिको रेस्पोन्स गरेका छन् त्यो हामीले देखेकै कुरा हो । यो चुनावमा उहाँहरुको बोल्ने काम हो । संगठनमा कमजोर भएपछि धेरै बोलेर जनताको मनोविज्ञानलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने उहाँहरुको विचार हो । उहाँहरु आफै क्षय हुनुभएको छ । पार्टीभित्रको फुटले आफै कमजोर हुनुभएको छ । हिजो केपी ओलीजीको पक्षमा मरिमेटेर लाग्ने साथीहरु पार्टीबाट बाहिएर छिन्नभिन्न हुनुभएको छ । त्यसैले एक्लै बोलेर जित्नुभन्ने केपीजीको विचार होला त्यसमा खासै दम देखिँदैन ।

तपाईंहरुलाई त एमालेसँग एक्लै चुनाव लड्न डराएर कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत पार्टीहरुले गठबन्धन गरेका हुन् भन्ने आरोप छ नि ?
हामीले गठबन्धन गर्दा चाहीं चुनावदेखि डराएको हुने अनि उहाँलाई चाहीं कमल थापा, राजेन्द्र लिङ्देनसँग गठबन्धन गर्दा नडराएको हुने ? यदि उहाँहरुको त्यो आरोप हो भने कमल थापा, राजेन्द्र लिङ्देन किन चाहियो त ? उहाँले त यस्तो आरोपप्रत्यारोप लागउने काम त अरु उपाय छैन । हाम्रो गठबन्धन भनेको प्रतिगमनविरुद्ध एकाकार भएर जाने हो ।

त्योसँगै लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, समृद्धिका लागि पनि एकाकार भएर जाने गठबन्धन हो । माओवादी एक्लै चुनाव लड्ने दमदार पार्टी हो । कांग्रेस आफैमा एउटा दमदार लोकतान्त्रिक पार्टी हो । फेरि यहाँ एमालेसँग चुनाव लड्न त्यति समस्या भएको ठाउँ पनि होइन । त्यसैले पनि हामीलाई यहाँ हाम्रो पक्षको मत संरक्षण मात्रै गर्नुछ । चुनाव मात्रै जित्नु ठूलो कुरा होइन।

संलग्न सबै पार्टी बलियो हुँदाहुँदै गठबन्धन चाहीं किन त ?
यो गठबन्धन एउटा चुनाव जित्न, सांसद बन्न, मन्त्री बन्न मात्रै गरिएको होइन । यो कुरा सबैलाई जगजाहेर छ । हिजोका दिनमा पटक–पटक संसदमाथिको हमला । सत्तासञ्चालनमा एकलौटी ढंगले अधिकार दुरुपयोग गरिएका कुराहरु, लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई धरासायी पारेर जानखोजिएको, जननिर्वाचित संविधानलाई कुल्चिएर गरिएका हर्कतहरुविरुद्ध गरिएको गठबन्धन हो । यी विषयलाई संरक्षण गरेर समृद्धिको बाटो तय गर्नुपर्ने हाम्रो दायित्व छ ।

संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, संघीयताको रक्षा गर्दै देशलाई समृद्धितर्फ उन्मुख गराउने हाम्रो लक्ष्य रहेको छ । हिजोका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत बनाएर अगाडि बढाउन हामी सम्पूर्ण शक्ति एकाकार छौं भनेर देखाउन हाम्रो गठबन्धन हो । यो चुनाव जित्नका लागि कसैसँग डराएर गरिएको होइन । हामी हिजो राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरुसँग लडेरै आएका हौं । त्यसैले अहिले कुनै पार्टीसँग डराउनुपर्ने आवश्यकता छैन ।

अन्त्यमा त्यस क्षेत्रका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, जननिर्वाचित संविधानलाई लागु गर्न र शान्तिसुव्यवस्था कायम गरी देशलाई आर्थिक समृद्धितिर उन्मुख गराउनका लागि, विकास निर्माण र भौतिक पुनर्संरचनालाई अगाडि बढाउनका हामीले गठबन्धन ग¥यौं । शान्तिप्रक्रियाको कुरा गर्दा १२ बुँदे समझदारीदेखि हामीले सहकार्य गर्दै आएका छौं । अहिले पनि देशको विकास निर्माण, आर्थिक समृद्धि र भौतिक पुनर्संरचनादेखि शान्ति प्रक्रियालाई अगाडि बढाइ देशलाई आर्थिक विकास गर्नका निम्ति अगाडि बढेका छौं ।

मैले अगाडि पनि भनेको यो गठबन्धन कुनै एउटा चुनाव जित्ने रहर मात्रै नभएर अहिलेको राष्ट्रिय आवश्यकता हो । त्यसैले मलगायत हाम्रो गठबन्धनका सबै साथीहरुलाई आफ्नो अमूल्य मत दिइ अत्याधिक बहुमतले विजयी गराउन हार्दिक अनुरोध गर्दछु । हाम्रो यो गठबन्धन चुनावसम्म लागि मात्रै नभएर आगामी पाँच वर्ष सँगै सरकार चलाउने गरी रहने छ । हामी देशमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, शान्तिप्रक्रिया, विकास निर्माण र आर्थिक समृद्धिलाई अगाडि बढाउने गरी यो गठबन्धनलाई निरन्तरता दिएर अगाडि जाने छौं ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : २४ बजे