चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

‘टुरिष्ट’ उम्मेदवारका कारण काठमाडौं २ निकै पछि परेको छ : कुन्तीदेवी पोख्रेल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले ‘टुरिष्ट’ उम्मेदवारका कारण यो क्षेत्र निकै पछि परेको बताएकी छिन् । आइतबार राप्रपा काठमाडौं क्षेत्र नम्बर २ ले बक्तिसपुतलीमा गरेको दीपावली, नेपाल संवत तथा छट पर्वका अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काठमाडौंको २ नम्बर क्षेत्र टुरिष्ट नेताका कारण कार्णालीको दूर्दशामा पुगेको स्मरणं गराइन् ।

कार्यक्रममा बोल्दै पोखरेलले हरेक निर्वाचनमा यो क्षेत्रभन्दा बाहिरका उम्मेदवार आएर चुनाव जित्ने र फेरि फर्केर सो क्षेत्रमा नजाँदा विकासमा निकै पछि परेको उल्लेख गरिन् । चुनावको सिलसिलमा जनताका घरदैलो कार्यक्रम गर्न जाँदा शंखरापुरका नाङुलेभारे, कात्र्तिके–देउराली जस्ता स्थानहरु अझैपनि कर्णालीको अवस्थामा रहेको, एम्बुलेन्स पुग्ने बाटो नहुँदा जनताहरुले दुःख पाइरहेको बताइन् ।

त्यसकारण काठमाडौं क्षेत्र नम्बर २ मा बाहिरबाट आएका उम्मेदवारहरुलाई भोट नदिई माला लगाएर बिदा गर्न आग्रह गरिन् ।माओवादी द्धन्द्धका बेला कार्यकर्ता र आफन्तको हत्या गर्ने दललाई काँग्रेसले बोकेर हिँडेकोप्रति आपत्ति जनाउँदै हिजो आफन्त मार्ने दललाई आज चुनाव जिताउन ठेक्का लिएको भन्दै प्रश्न गरिन् ।

उनले आफू विश्वेश्वरप्रसाल कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको प्रजातन्त्रप्रतिको आर्दशप्रति प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन नभनी राष्ट्रवादी राप्रपालाई मत दिन आग्रह गरिन् । उनले भनिन्–‘म यो देशका प्रजातन्त्रवादी नेता विशेश्वरप्रसाद कोइरालाको सिद्धान्त र वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराईको राजनीति जीवनलाई आत्मसाथ गरेर आएकी प्रजातन्त्रवादी युवा नेत्रृ हुँ ।

यसकारण प्रजातन्त्रमा विश्वास गर्ने साथीहरुले प्रजातन्त्रवादीलाई नै भोट दिनुपर्छ ।’ उनले प्रजातन्त्रको हिमायती पार्टीले आज प्रजातन्त्र विरुद्ध युद्धमा उत्रिकाहरुसँग सहकार्यको लागि अपवित्र गठबन्धन गरेको उनको भनाई छ । उनले काठमाडौं क्षेत्र नं. २ मा रहेको जहरसिंह पौवामा झन्डै दुई सय रोपनी सरकारी जग्गा अमेरिकी सहयोग परियोजना (एमसीसी)ले कब्जा गरेको प्रति त्यस क्षेत्रका जनता आक्रोशित भएको सुनाइन् ।

उनले त्यहाँको भौगोलिक अवस्था जनताको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको बताउँदै सो भूमी एमसीसी परियोजनाबाट खाली गराउनुपर्ने बताइन् । उनले आफू निर्वाचित भएमा ति क्षेत्रमा व्यवस्थित ढंगले विकासका काम गर्ने बताउँदै संसदमा राज्यका लागि नयाँ नीति निर्माण गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छिन्।

कार्यक्रममा प्रमुख अतिथि रहेका राजेन्द्र लिङदेनले आगामी प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ३० लाख मत ल्याउने दावी गरेका छन् । सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ (क) का प्रदेश उम्मेदवार सुनिल केसी, प्रदेश (ख) का उम्मेदवार राजु विष्ट, राप्रपा काठमाडौं जिल्ला सभापति नवराज सिंखडा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५८ बजे