चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

राष्ट्रिय विज्ञापन संघ सरकारसँग असन्तुष्ट



काठमाडौं । सरकारले क्लीन फिड अवधारणा ल्याएर आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाएको राष्ट्रिय विज्ञापन संघ नेपालले आरोप लगााएको छ । नेपाल विज्ञापन संघ (आन)को विकल्पमा राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो आरोप लगाएको हो ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले क्लीन फिड अवधारणा पार्टीका कार्यकर्ता भर्ति गर्न ल्याएको बताए । उनले त्यसरी भर्ति भएका कार्यकर्ताको सरकारको तलव भत्ता खाने र गाडी प्रयोग गर्ने काम मात्रै भएको बताए । तर त्यसरी ल्याइएको क्लीन फिड अवधारणा भने अहिलेसम्म कार्यान्वयन नभएको पनि बताए ।

सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो तर ल्याएसकेपछि कार्यान्वयन गर्न सक्नुपर्ने उनको भनाई थियो । उनले विज्ञापनहरुलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए ।

देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको हो । समितिको प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्ष कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् । साथै सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : १७ बजे