चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

मेलम्ची नगरको विकासको नेतृत्व नगरपालिकाले नै गर्ने प्रमुख तामाङको प्रतिबद्धता



काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरको विकासको नेतृत्व नगरपालिकालेनै गर्ने बताएका छन् । प्रमुख तामाङले सामाजिक सञ्जाल ‘फेसबुक मार्फत निर्वाचनको संघारमा कुन दल वा दलको नेताले के बोल्यो नगरपालिकालाई सरोकार नभएको बताएका छन् ।

उनले समग्र बिकासको नेतृत्व अब मेलम्ची नगरपालिकाले गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले जोखिममा रहेका यस क्षेत्रका मुख्य बजार र सडकहरुको संरक्षणमा विशेष ध्यान दिँदै आएको प्रमुख तामाङले बताएका छन् ।

उनले अब बाढीले ध्वस्त बनाएको नवलपुर, तिपेनी भोताङ पक्की मोटरबाटो र मेलम्ची फट्टे, दुबाचौर, बाँसखर्क मोटरबाटो निर्माणमा मेलम्ची नगरपालिकाको ध्यान जाने जनाएका छन् । त्यस्तै प्रमुख तामाङले दुइवटै पुल निर्माणका लागि नगर कार्यपालिकाले आबस्यक निर्णय र पहल गरिसकेको प्रष्ट पारे ।

मेलम्ची खानेपानी आयोजनाको भबिष्य जोडिएको हेलम्बु राजमार्गको तालामाराङ खण्ड, बाहुनेपाटी काउलेदोभान, मेलम्चीलगायत यस भेगको लाइफ लाइन सांखु फट्केश्वर सडक कालोपत्रे तथा स्तरउन्नतीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको समेत तामाङले उल्लेख गरे ।

तामाङले ५ बर्षभित्र आफ्नोे नेतृत्वमा मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका सबै सडक संजालहरुको ब्यबस्थापन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०६ बजे