चैत्र ६, २०८० मंगलबार Tue Mar 19 2024

छठ पर्वअघि घरदैलो र प्रचार प्रसार गर्न नपाउने, गठबन्धनले भेला गर्ने



काठमाडौं।एक साताअघि नै प्रत्यक्षतर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरूलाई आउँदै गरेका मुख्य चाडहरू तिहार, नेपाल सम्वत्‌को नयाँ वर्ष र छठ पर्वसम्म मतदाता भेट्न र घरदैलो गर्न यो पटक निर्वाचन आयोगले रोक लगाएको छ।

निर्वाचन आचारसंहिताले उम्मेदवारहरूलाई मतदानको १७ दिन अघिबाट १५ दिनसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न समय दिएका कारण उम्मेदवारहरू मतदातासँग फुर्सदमा रहने समयमा चुनावी प्रचारप्रसारमा हिँड्न नपाउने भएका हुन्।

आचारसंहिताको यो व्यवस्थाले असोज २३ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई आफ्ठ्यारोमा पारेको बताइन्छ।

असोज १६ गते अन्तिम पटक संशोधन गरिएको समानुपातिक तर्फको बन्दसूचीमा परेका उम्मेदवारहरूको नाम अझै सार्वजनिक भइसकेको छैन।

आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि १७ दिन अघिबाट मात्रै प्रचारप्रसार गर्न पाउने गरी आचारसंहिता बनाएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले यसअनुसार कार्तिक १७ गतेपछि मात्रै प्रचार प्रसार गर्न पाउँछन्।

गठबन्धनले भेला गर्ने
सरकारमा रहेका दलहरूको गठबन्धनले शनिवार तिहारअगाडि नै देशका सात स्थानमा संयुक्त भेला गर्ने निर्णय गरेको छ।

शनिवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले कार्तिक ४ गतेबाट ७ गतेसम्म सातवटै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो।

उक्त भेला गठबन्धनमा रहेका चारवटा दलका स्थानीय नेताहरूमा मात्रै सीमित रहने भएका कारण आचारसंहिताले नरोक्ने गठबन्धनको साझेदार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले दाबी गरिन्।

“हामीले गर्न लागेको आमसभा होइन। आन्तरिक कार्यकर्ता परिचालन हो, यसलाई आचारसंहिताले रोकेको छैन,” पौडेलले भनिन्।

निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघि “जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चारमाध्यममा प्रचारप्रसार सामग्री प्रकाशन गर्न र निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न” रोक लगाएको छ।

मतदानको दुई दिन अघिबाट मौन अवधि शुरू हुने भएकाले उम्मेदवारहरूले प्रचारप्रसारका लागि १५ दिनको मात्रै समय पाउने छन्।

उम्मेदवारहरू के गर्दै छन्रु
प्रचारप्रसार गर्न नपाइने भए पनि प्रत्यक्षतर्फ विभिन्न दलबाट १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमै खटिएका छन्।

“आचारसंहिताको पनि ख्याल गर्नुपर्ने भएकाले खुलेर प्रचारप्रसार गर्न पाएका छैनौँ। तर हामी राजनीति गर्ने मान्छे त सधैँ जनताको बीचमै हुन्छौँ नि,” दाङमा रहेकी एमाले उम्मेदवार शान्ता चौधरीले भनिन्।

“हामी गाउँघर नगए जनताले नै उम्मेदवार देखिएनन् भनेर खोज्न थाल्नुहुन्छ।”

आयोग के भन्छ

निर्वाचन आयोगका सहायक प्रवक्ता कमलप्रसाद भट्टराईले आचारसंहिताले रोक लगाएका प्रचारप्रसारका गतिविधि निर्वाचन भन्दा १७ दिनअघि गर्न नपाइने बताए।

“आचारसंहिताले प्रचार प्रसारमा केही कुरा रोक लगाएको छ। घरदैलो लगायतका गतिविधिका लागि निश्चित समय तोकिएको छ,” उनले भने।

आचारसंहितामा २५ जनाभन्दा बढीको समूहमा घरदैलो गर्न रोक लगाइएको छ।

उम्मेदवारी रद्द सम्मको कारबाही
निर्वाचन आयोग ऐन २०७३ ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ।

“कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ,” ऐनमा भनिएको छ।

उम्मेदवारी रद्द गर्ने निर्णय गर्नुअघि आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ।

ऐनमा अनुगमनका क्रममा आचारसंहिता उल्लङ्घन भएको देखिए त्यस्तो गतिविधि रोक्न आयोगले दल, संस्था वा उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था छ।

आयोगले दिएको आदेश अटेर गर्ने दल, संस्था वा उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ५० बजे