बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

खनालको उम्मेदवारीले मकवानपुर १ का नागरिक उत्साहित



कमलबहादुर बोहरा

काठमाडौं । आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसकी पूर्वनेतृ रिता खनाल समानुपातिक उम्मेदवार बनेकी छन् । उनी वीपी कांग्रेस पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी हुन् । खनाल नेपाली कांग्रेसको विभिन्न भगिनी संस्थाहरुमा रहेर काम गरेकी चर्चित नेतृ हुन् ।

उनले नेपाल ट्रेडयुनियन कांग्रेसमा रहेर पनि काम गरेकी छन् । ट्रेडयुनियन कांग्रेसमार्फत खनालले आवाजबिहीन श्रमिकहरुका आवाजलाई बुलन्द गर्दै आएकी थिइन् । सधैं श्रमिजीवीका पक्षमा दरिलो वकालत गर्दै आएकी उनी आफूलाई श्रमिक नेतृ भन्न रुचाउँछिन् ।

नेपाली कांग्रेसभित्र ठूलो संघर्ष र बलिदानी गर्दै आउनुभयो अहिले कसरी वीपी कांग्रेतिर लाग्नुभयो त ? भन्ने प्रश्नमा खनाल भन्छिन्, ‘जबसम्म नेपाली कांग्रेसभित्र विधि, पद्धति र सिद्धान्त थियो । संगठनमा योगदान गरेका, स्वच्छ छवि भएका नेताहरु थिए । जसले कार्यकर्ताको योगदानको कदर गर्दथे । पार्टी विधि, विधान र पद्धतिबाट चलेको थियो । त्यतिबेलासम्म कांग्रेसमा रहेँ ।

अहिले पार्टीमा भ्रष्टाचारी, गुण्डा, व्यापारी, तस्कर, ठेकेदार, हाइड्रोपावरका माफिया, शैक्षिक माफिया, मेडिकल माफिया, सेयर ब्रोकर, भूमाफिया, वनजंगल तस्कर, गिटीबालुवा तस्कर, लागुऔषध कारोबारीहरुको हालीमुहाली भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले यस्ता व्यक्तिलाई छानिछानी टिकट दिएका छन् ।

देउवा सभापति भएदेखि कांग्रेसमा योगदान गरेर जीवन बिताएका नेता, कार्यकर्तालाई पुरै पाखा लगाएका छन् । हामीजस्ता धेरै साथीहरु कांग्रेस संगठनमा आफ्नो जीवन बिताएका छन् । त्यस्तालाई पुरै स्थापित गरिएको छ । देउवाको यो क्रियाकलापबाट वाक्क भएर मलगायत धेरै साथीहरु महामानव वीपी कोइरालाको आदर्श, सिद्धान्त र निष्ठालाई बँचाइराख्न स्थापित वीपी कांग्रेसतिर लागेका छौं ।’

खनाल थप्छिन्, ‘सभापति देउवाले कांग्रेसलाई अलोकतान्त्रिक, अधिनायकवादी, जहानिया हुकुमी शासन पद्धतिजस्तो बनाइसकेका छन् । त्यसकारण पनि वीपीको आदर्श, सिद्धान्त र निष्ठा बोकेका साथीहरु यसमा अटाउन नसकेका हुन्’ खनालको आरोप छ ।

तपाईंको उम्मेदवारी केका लागि भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपालमा व्याप्त, भ्रष्टाचार, अनियमितता, अराजकता, अशान्ति, असुरक्षा, हत्या, बलात्कार, महंगी, अन्याय, अत्याचारविरुद्ध मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा मेरो समानुपातिक उम्मेदवारी रहेकाे छ ।’

मकवानपुरकी स्थायी वासिन्दा खनाल कुशल नेतृ र वरिष्ठ समाजसेवी भनेर चिनिन्छिन् । सधैं गरीव, निमुखा, उत्पीडित, ओझेलमा परेका, पिछडा वर्ग, दलित, जनजाति, अल्पसंख्यक, मधेसी, मुस्लिमलगायतका आवाज मुखरित गर्न लागिपर्ने नेतृ हुन् । त्यसकारण पनि खनालको उम्मेदवारीले मकवानपुर निर्वाचन क्षेत्र नं. १ का सर्वसाधारण उत्साहित भएको एक स्थानीयले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : १८ बजे