काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो । यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो ।
यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।
यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार यो वर्ष डेंगु संक्रमितको संख्या ३२ हजार १२१ जना पुगेको छ भने ७६ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।