कमल बहादुर बोहरा
काठमाडौं । यसपटक नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमालेका अनुसार अछाम–१ बाट झपट बोहोरालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाइएको छ ।
नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य र अछाम जिल्ला इन्चार्ज पनि हुन् । अध्यक्ष केपी शर्मा ओलीले उनै बोहोरालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
नेकपा एमालेले टिकट वितरणको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई दिएको छ । सोही अनुसार उनले टिकट वितरण गर्दै आएका छन् । तर, अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे माग गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री पनि हुन् ।
रावलले एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता भनेर चिनिने रावललाई गत भदौ २९ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि जिल्ला कमिटीले एकल सिफारिस गरेको थियो ।
त्यसैगरी अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि जिल्ला कमिटीबाट एकल रुपमा सिफारिस भएको थियो ।

