१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक



काठमाडौं। स्व. जननेता मदन भण्डारीको जीवनी समेटेर तयार पारिएको ‘जननेता मदन भण्डारी’ नामक नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा स्व. भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्न खोजिएको छ। गीतमा मीठो स्वरका धनी गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर सजिएको छ । त्यस्तै गीतमा बुद्धिमान परियारको शब्द र शिव गौतमको संगीत रहेको छ । गीतको भिडियोमा कलाकार सुमन कार्कीले स्व. भण्डारीको अभिनय गरेका छन् भने कलाकार सारिका प्रसाईँले विद्यादेवी भण्डारीको भूमिका निभाएकी छिन्।

भिडिओमा विशेष गरेर भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका, ढुंगेसाँघुस्थित रहेको उनको जन्मघर र पछि बसाइँ सरी आएको मोरङको उर्लाबारीलाई उतारिएको छ। गीतको भिडिओमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू देवराज घिमिरे, गुरु बराल, मैवाखोला गाउँपालिकाका पूर्व पालिका अध्यक्ष राजन थत्लुङको शुभकामना सन्देश पनि समेटिएको छ।

गीतको भिडियो डिलाइट क्रिएशन कम्पनीमार्फत संचालिन ‘नेपाल विशेष’को अफिसियल यू–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा दिपेन बस्न्यात र रेहम दर्लामी मगरले छायाङ्कन गरेका छन् । भिडिओ सम्पादन पनि दिपेन बस्न्यात गरेका हुन् । सो गीत सार्वजनिक कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेत्री उर्मिला थेवे, गायक शिशिर योगीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ०४ बजे