चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

कांग्रेस प्रवक्ताले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ । उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

प्रवक्ता महतका अनुसार समानुपातिकको बन्दसूचीमा कुनै पनि नेताको ‘नोट अफ डिसेन्ट’ छैन । उनले भने, ‘पार्टीभित्र सर्वसम्मत भएको निर्णयबारे सडकमा भ्रम छर्ने काम भइरहेको छ । चुनावको भेला पार्टीभित्र बखेडा झिक्नु राम्रो भएन ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ४६ बजे