बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र हुँदैछ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको अध्यक्ष प्रचण्डको भनाई छ । ‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला रु यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने ।

साथै उनले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको दोहोर्‍याए । ‘मंसिर ४ मा चुनाव आउँदैछ । यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो । म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ अध्यक्ष प्रचण्डले अगाडि भने, ‘‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु ।’

गत स्थानीय तह निर्वाचन संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता भएको बेला जनताले फैसला गरेको उल्लेख गर्दै उनले मंसिर ४ मा पनि नतिजा पक्षमा आउने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : १९ बजे