बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

पर्यटकलाई आकर्षित गर्न हेलुम्बुमा ‘बन्जी जम्प’ निर्माण



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण गरिएको छ । हेलम्बु गाउँपालिका १ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण गरिएको हो ।
एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जनाएका छन् । अध्यक्ष शेर्पाका अनुसार बञ्जीजम्पको उचाइ एक सय ७३ मिटर र झोलुङ्गे पुल तीन सय ७० मिटर लामो रहेको बताएका छन् ।

उक्त स्थानमा बञ्जीजम्प निर्माण भएसँगै पर्यटक आगमन बढ्ने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सहज हुने अध्यक्ष शेर्पाले बताएका छन् ।

निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सम्भवतः देशको हालसम्मकै लामो रहेको गाउँपालिकाका इञ्जिनियर शेरबहादुर राईले बताए । उनका अनुसार देशमा हाल दुई सय ५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन । हेलम्बु गाउँपालिका १ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइएको झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्छ ।
नेपालमा एक सय ६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोसी नदीमा विसं २०५६ देखि सञ्चालन हुदै आएको छ । हेलम्बुमा निर्माण भएको बञ्जीको उचाइ भोटेकोसीको तुलनामा १३ मिटर बढी रहेको छ । सरकारको सय पर्यटकीय गन्तब्यमा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बञ्जीजम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ५५ बजे